arrow

फुटको अवस्थामा जसपा, बाबुरामले हिम्मत गर्लान् त ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३० सोमबार
baburam-upendra.jpeg

काठमाडौं । जनता समाजवादी पार्टी जसपा फुटको अवस्थामा पुगेको छ । जसपाको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई पक्षधर नेताहरू जसपालाई फुटाउनेसम्मको गृहकार्यमा जुटेका छन् ।  

जसपामा दुई जना अध्यक्ष राख्न जसपाका अध्यक्ष उपेन्द्र यादव तयार नभए उनीहरू फुटाउने अवस्थामा पुगेको स्रोतको भनाइ छ । जसपा फुट्यो भने यो दोस्रो फुट हुनेछ । यसअघि जसपाबाट फुटेर महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बनाइसकेका छन् । 

स्थापनाकालको १६ महिनामा जसपा पहिलो पटक फुटेको हो । २०७७  बैशाख १० गते मध्यराति तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भइ जसपा निर्माण गरिएको थियो । 

पार्टी गठन भएको एक वर्ष नबित्दै पार्टीभित्र गम्भीर विवाद सिर्जना भएको थियो । त्यसको ६ महिनापछि गत वर्ष भदौ १ गते महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा लगायतका नेताहरुले जसपालाई फुटाएर लोकतान्त्रिक समाजावादी पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

त्यसको ९ दिनपछि आयोगले लोसपालाई दलको रुपमा मान्यता दिएको थियो । जसपा फुट्नुअघि जसपाको पहिलो अध्यक्षमा ठाकुर थिए । ठाकुरले नयाँ पार्टी गठन गरेपछि उनको ओगटेको पहिलो अध्यक्ष पद खाली छ । 

खाली भएको स्थानमा डा.बाबुराम भट्टराईलाई ल्याउनु पर्ने, भट्टराईलाई ल्याउन उपेन्द्र यादव तयार नभए अशोक राईलाई राख्नुपर्ने भट्टराई—राई पक्षधर नेताहरुको अडान छ । 

तर उपेन्द्र यादव पक्षधर नेताहरु भने दुई जना अध्यक्ष राख्ने प्रणाली सबै पार्टीमा असफल भइसकेको बताउँदै असफल भएको प्रणाली जसपामा लागू हुन नसक्ने बताउँछन् । 

यही विषयमा शुरु भएको विवाद अहिले उत्कर्षमा पुगेको छ । दुवै पक्ष पछि हट्ने अवस्थामा छैनन् । विधानमा राखिएको व्यवस्था लागु हुनु पर्ने आफूहरूको भनाइ रहेको जसपा कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले बताए ।  

स्थानीय तहको चुनावअघि कार्यकारिणी समितिका अध्यक्ष यादवले यही असार १ र २ गते विधान अधिवेशन बोलाउने सहमति असन्तुष्ट नेताहरुसँग गरेका थिए । 

उक्त अधिवेशनमा भट्टराई–राई पक्षधर नेताहरूले विधानमा भएको उक्त व्यवस्था लागू गर्न दबाब दिने भएपछि यादवले असार १ र २ गते विधान अधिवेशन नबोलाउने भएका छन् । तोकिएको मितिमा विधान अधिवेशन नबस्ने भएपछि भट्टराई–राई पक्षधर नेताहरु झनै आक्रोशित भएका छन्  । 

उनीहरू आफ्नो एजेण्डामा उपेन्द्र यादवलाई ल्याउन सकेसम्म प्रयास गर्ने, त्यो सम्भव नभए नयाँ पार्टी खोल्ने तयारीमा पुगेका छन् । तर यादव पक्षधर नेताहरुको बुझाइ छ, भट्टराई–राइले जसपा छोडेर नयाँ पार्टी खोलेमा जसपालाई खासै नोक्सान हुँदैन । 

उपेन्द्र पक्षधर एक नेताले भने, ‘हामीलाई नोक्सान महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु छाडेर गएको बेला भएको थियो । मधेसमा जनाधार नै नभएका भट्टराई, राईले छाडेर गएमा हामीलाई केही फरक पर्दैन ।’

जसपाको ३४ सदस्यीय कार्यकारिणी, ४ सय ९९ सदस्यीय केन्द्रीय समिति तथा १९ सदस्यीय संसदीय दल छ । यी तीन वटै निकायमा आफूहरू बहमुतमा रहेको भट्टराई–राई पक्षधर नेताहरूको भनाइ छ । 

उनीहरूले केन्द्रीय समिति तथा कार्यकारिणी समितिमा आफ्नो बहुमत देखाउन हस्ताक्षर संकलन अभियान शुरु गरेका छन् । चुनावअघि पनि भट्टराई–राई पक्षधर नेताहरुले यसरी नै  दबाब दिएका थिए । त्यतिखेर यादव एक कदम पछि हटेपछि जसपाको विभाजन रोकिएको थियो । 

‘अब एक कदम पछि हटेर मात्र हुँदैन । पार्टीमा दुई जना अध्यक्ष राख्नै पर्छ’ भट्टराई पक्षका अर्का एक नेताले भने । भट्टराई–राई पक्षलाई अहिले उपेन्द्र यादवकै निकट भनिनेहरु इस्तिायक राई, प्रदीप यादव, अमृता अग्रहरी लगायतका नेताहरुले पनि साथ दिएका छन् । 

तर सरकारमा रहेका चार जना मन्त्रीले भने उपेन्द्र यादवलाई नै सक्रिय रुपले साथ दिएका छन् । यो अवस्थामा बाबुराम भट्टराईले जसपामा आफू पनि शक्तिमा पुग्ने प्रयास सफल पार्लान् वा फुटाउने हिम्मत जुलाउलान् त ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ