- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं उपत्यकामा गएराति भारी वर्षा भएको छ । उपत्यकामा पनि सबैभन्दा बढी काठमाडौंमै भारी वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६० मिलिमिटर वर्षा भएको छ । कीर्तिपुरमा पनि ६० मिलिमिटर वर्षा भएको छ । बबरमहलमा ४९ तथा ललितपुरमा ३९ मिलिमिटर वर्षा भएको छ ।
उपत्यकामा रातभर मेघगर्जनसहित वर्षा भएका कारणले गर्दा निद्रामासमेत समस्या भएको गुनासो आएको छ । आज केही क्षण मौसम खुले पनि दिनभर नै मौसम बदली हुने सापकोटाले बताए । आज दिनभर प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा वर्षा हुनेछ । गएराति सप्तरीमा ४०, मकवानुपरको हेटौंडा ६७, चितवनमा ३२, धादिङको धुनिवेसीमा ४५ र बन्दीपुरमा ५४ मिलिमिटर वर्षा भयो ।
अहिले गण्डकी, बागमती, मधेश र प्रदेश १ का थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश नं १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
प्रदेश १ र मधेसका एक–दुई स्थानमा भारी वर्षाको प्रक्षेपण पनि गरिएको छ । त्यस्तै,, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बुधबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ ।
बिहीबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागमा वर्षाको आँकलन गरिएको छ ।
प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव छ । अन्य प्रदेशमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुन अझै केही दिन लाग्ने पनि सापकोटाले बताए । स्थानीय वायुले गर्दा कालीकोटमा वर्षा भए पनि अन्य क्षेत्रमा वर्षा हुन सकेको छैन ।