arrow

जानकी मन्दिरका महन्थले गरे छानबिनको माग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३१ मंगलबार
janaki-mantha.jpg

जनकपुरधाम। जानकी मन्दिरको सौन्दर्यीकरणको नाउँमा विभिन्न निकायहरूले गरेको कामकाज कमसल भएको भन्दै मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले छानबिनका लागि माग गरेका छन् । 

मङ्गलवार जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरेर मन्दिरको भित्री भागमा लगाइएको जयपुरी मार्बल हटाएर कमसल मार्बल लगाएको र अहिले ती मार्बलहरू फुट्न थालेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

 महन्थ वैष्णवले मधेस सरकारको मुख्यमन्त्री स्वच्छता कार्यक्रम अन्तर्गत भएको जानकी मन्दिर सौन्दर्यीकरण र बृहत्तर क्षेत्र विकास परिषद्बाट मन्दिरमा जडान भएको लाइटमा भ्रष्टाचार गरेको आरोप समेत लगाएका छन् ।
 
दासले जानकी मन्दिरलाई भ्रष्टाचार गर्ने थलो बनाएको आरोप लगाएको हो। मन्दिर सौन्दर्यीकरणमा मधेस प्रदेश सरकारले टाइल्स मार्बल, मर्मत लगायतको सौन्दर्यीकरण लागि ७ करोड २० लाख रुपैयाँ छुटाएको थियो।

सौन्दर्यीकरणको काम अन्तिम चरणमा रहेको हो। महन्थ दासले प्रदेश सरकारबाट जडान भएको टाइल्स मार्बल थुप्रै ठाउँमा फुटिसकेको र फुट्ने क्रम जारी रहेको बोल्दै कमसल सामग्री प्रयोग गरेर भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

त्यस्तै ,गत आर्थिक वर्षमा बृहत्तर जनकपुर क्षेत्र विकार परिषद्ले ११ करोड रुपैयाँको लागतमा मन्दिरभरि आकर्षक देखिने लाइट जडान गरेको थियो। सो लाइट दुई महिना पनि नबलेको महन्थ दासको गुनासो पोखे।

पत्रकार सम्मेलनमा बोल्दै महन्त दासले जानकी मन्दिरको नाममा लुट्ने काम ठिक होइन। बृहत्तरले ११ करोडमा जडान गरेको बिजुली लाइट मिस्त्रीले भने अनुसार १ डेढ महिनामै सबै खराब भइसकेको र बल्ने लायक नरहेको महन्थ दासले जानकारी गराए। 

पटक पटक ठिक गर्न आग्रह गर्दा बृहत्तर मिस्त्री नआएको बहाना लगाएर पन्छिरहेको र मधेस सरकारले सौन्दर्यीकरणको नाममा गरेको हालत उस्तै रहेको गुनासो गरेका छन् ।

कुनै निकाय काम गर्न आउँदा पनि मन्दिरसँग कुनै समन्वय र छलफल नै नगरी मन्दिरको पुरातत्त्वमा असर पर्ने गरी कमसल काम गर्ने गरेको महन्थ दासले पत्रकार सम्मेलनमा जानकारी गराए ।

महन्त दासले भने,‘म ती निकायहरूसँग आग्रह गर्छु। जे काम गर्नु छ हामीसँग पनि छलफल गरेर राम्रो काम गर्नुस्। मेरो आग्रह छ जानकी मन्दिरमा सौन्दर्यीकरणको नाममा भ्रष्टाचार नगर्नुस्।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ