arrow

उद्धार र राहतमा जुट्न जिल्ला समितिलाई तरुण दलले जारी गर्‍यो परिपत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
bidwan-gurung-tarun-dal.jpg

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकको उद्धार तथा राहत कार्यमा जुट्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले मङ्गलबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय देशभर मनसुनी वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक प्रकोप निम्तिन थालेको भन्दै प्रकोपमा परेका व्यक्तिको उद्धार र राहतमा जुट्न जिल्ला समितिलाई परिपत्र जारी गरेका हुन् ।

 प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकको तत्काल उद्धार, सहयोग र व्यवस्थापनका लागि जिल्लाका सबै क्षेत्र, पालिका र वडा तहमा विपद् व्यवस्थापन तरुण परिचालन समिति गठन गर्न परिपत्र गरिएको हो ।

यस्तै सम्बन्धित वडा, पालिका र सुरक्षा निकायसँग समन्वय गरी प्राकृतिक प्रकोपबाट विपत्तिमा परेकाको तत्काल उद्धार र व्यवस्थापनमा लाग्नसमेत तरुण दलले निर्देशन दिएको छ । 

प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार व्यवस्थापन र राहत सङ्कलन तथा वितरण गर्दा तरुण दलको साङ्गठनिक मर्यादालाई ध्यानमा राख्न पनि जिल्ला समितिलाई आग्रह गरिएको छ । 

तरुण दलले आफ्ना जिल्लामा गरिएका विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यको नियमित जानकारी केन्द्रीय कार्यालयमा गराउनसमेत निर्देशन दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ