arrow

वालेन्द्रले पत्रकारमाथि दुर्व्यवहार गरेकोप्रति महासंघको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १ बुधबार
FNJ-pp.jpg

काठमाडौं । काठमाडौं महानगरका प्रमुख वालेन्द्र साहले हिमालय टेलिभिजनमा कार्यरत पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अष्भिट लामामाथि दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

समाचार संकलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका पत्रकार मिश्र र क्यामेरा पर्सनमाथि महानगर प्रमुख साहले दुर्व्यवहार गरेकोमा महासंघले ध्यानाकर्षण भएको जनाएको हो ।

'महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहरको अवस्थाबारे समाचार संकलनका लागि बुधबार दिउँसो १ः०० बजे त्यहाँ पुगेका पत्रकारद्वयलाई एक्कासी विभाग आइपुगेका प्रमुख साहले हिमालय टेलिभिजनको बुम र क्यामेरा देख्नेबित्तिकै दुर्व्यवहार गर्दै खिचिएका सामग्रीसमेत मेटाउन लगाएको' पत्रकार महासंघले जनाएको छ ।

'स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुखजस्तो व्यक्तिबाट यस किसिमको हर्कत हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो,' महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

'महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी यस्ता कार्य नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,' विज्ञप्तिमा अघि लेखिएको छ ।

यस विषयमा बुझ्न महानगरका प्रमुख साहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । पत्रकार मिश्रले तत्काल यस विषयमा बोल्न चाहेनन् ।
 



नयाँ