arrow

पिरामिड स्किम चलाएर डोगेकोइनको मूल्य बढाएको भन्दै एलन मस्कविरुद्ध २५८ अर्ब डलरको मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३ शुक्रबार
elon-musk.jpg

काठमाडौं । विश्वकै धनाढ्य टेस्ला एवं स्पेस एक्सका सीईओ एलन मस्कविरुद्ध डोगेकोइन लगानीकर्ताले २५८ बिलियन अमेरिकी डलर (२ खर्ब ५८ अर्ब डलर) को मुद्दा दायर गरेका छन् । मस्कले डोगेकोइन क्रिप्टोकरेन्सीको भ्यालु बढाउन पिरामिड स्किम (योजना) चलाएको आरोप ती लगानीकर्ताले लगाएका हुन् ।

म्यानहट्टनको संघीय अदालतमा दायर गरिएको उजुरीमा वादी किथ जोन्सनले मस्कले डोडेकोइन बेच्न यसको मूल्य बढाएको र त्यसपछि मात्र मूल्य घट्ने गरी स्किम चलाएको बताएका छन् ।

'प्रतिवादीहरू २०१९ देखि सचेत थिए कि डोगेकोइनको कुनै मूल्य छैन । तर डोगेकोइनलाई यसको व्यापारबाट नाफाको लागि बढावा दिइयो,' उजुरीमा भनिएको छ, 'मस्कले नाफा, एक्सपोजर र मनोरञ्जनको लागि डोगेकोइन पिरामिड योजना सञ्चालन गर्न विश्वको सबैभन्दा धनी व्यक्तिको रूपमा आफ्नो पेडेस्टल प्रयोग गरे ।'

गुनासोमा वारेन बफेट, बिल गेट्स र अन्यले क्रिप्टोकरन्सीको मूल्यमाथि प्रश्न उठाउँदै आएको टिप्पणीहरूसमेत उदृत गरेको छ ।

वादी जोन्सनले मे २०२१ देखि डोगेकोइनको बजार मूल्यमा आएको गिरावटलाई प्रतिनिधित्व गर्दै ८६ अर्ब डलरको क्षतिपूर्तिको माग गर्दै यसलाई तीन गुणा बढाउन चाहेका छन् ।

उनले मस्क र उनका कम्पनीहरूलाई डोगेकोइनलाई प्रवर्द्धन गर्नबाट रोक्नसमेत माग गरेका छन् । टेस्लाले फेब्रुअरी २०२१ मा १.५ अर्ब डलरको बिटकोइन खरिद गरेको भनेको थियो भने छोटो समयको लागि यसलाई टेस्लाका कारको भुक्तानीका लागिसमेत स्वीकार गरेको बताएको थियो ।

जुन  २०२१ को मेमा ७४ सेन्ट पुगेको डोगेकोइनको कारोबार बिहीबार लगभग ५.८ सेन्टमा भएको छ ।



नयाँ