arrow

जसपाले पनि सरकारमा नयाँ टिम पठाउने  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ४ शनिबार
upendra-yadav-jasapa.jpg

काठमाडौ । संसद बैठक चलिरहेको बेला जनता समाजवादी पार्टी जसपाका संसदीय दलका नेता तथा कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले सरकारमा नयाँ टिम पठाउने बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा जसपाका सांसदहरूलाई बोलाएर उनले सरकारमा नयाँ टिम पठाउने आश्वासन दिएका हुन् ।

उनले जसपाबाट प्रतिनिधित्व गरेका प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरूको अनौपचारिक बैठक बोलाएका थिए । छलफलमा उनले संसदको बैठकमा अनिवार्य उपस्थिति हुन र आफ्नो भूमिका बढाउन सांसदहरूलाई निर्देशनसमेत दिएका छन् । 

बैठक शुरु हुनै बित्तिकै धेरैजसो सांसदहरूले पार्टीले सरकारमा नयाँ टिम कहिले पठाउँछ ? भनी प्रश्न गरेका थिए । सरकारमा नगएका सांसदहरूको प्रश्न यही थियो । तर हाल सरकारमा रहेका मन्त्रीहरू भने यस बारेमा बोलेनन् । धेरैजसो सांसदहरूबाट एउटै जिज्ञासा आएपछि यादवले भने, ‘तत्काल नयाँ टिम पठाउछु ।’

तर कहिले नयाँ टिम पठाउने हुन् यसको मिति भने खुलाएनन् । ‘पार्टीले कहिले सरकारमा नयाँ टिम पठाउँछ भनी अधिकांश सांसदको जिज्ञासा थियो’ । सो बैठकमा सहभागी भएका जसपाका सांसद मृगेन्द्रसिंह यादवले भने, ‘अध्यक्षज्यूले नयाँ टिम पठाउँछु । यो काम गर्छु भनी आश्वासन दिनु भएको छ ।’ 

स्रोतका अनुसार जसपाका सांसदहरुले अध्यक्षसँग प्रश्न गरेका थिए, ‘तपाईले ६ महिनापछि नयाँ टिम पठाउँछु भनी आश्वासन दिनु भएको थियो । तर ८ महिना भइसक्यो । नयाँ मान्छे पठाउने छाँटकाँट देखाउनु भएको छैन । कहिले पठाउनुहुन्छ ?’ सांसदहरुले जति पटक प्रश्न गरे पनि उनको जवाफ एउटै हुन्थ्यो, ‘नयाँ टिम पठाउछु ।’

बैठकमा उनले संघीय परिषद्का अध्यक्ष तथा सांसद डा. बाबुराम भट्टराई, राजकिशोर यादव  तथा महेन्द्र यादवलाई बोलाएका थिएनन् । यी नेता अहिले यादवको विरुद्धमा छन् । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सरकारमा नयाँ टिम पठाउने निर्णय गरेपछि नयाँ टिम पठाउन जसपा अध्यक्ष यादवलाई पनि चर्को दबाब परेको छ । 

नेकपा एसले बजेट पारित भएपछि नयाँ टिम पठाउने बताएको थियो । बजेट बिहीबार नै पारित भइसकेको छ । 

नेकपा माओवादी केन्द्रलाई पनि नयाँ टिम पठाउनका लागि दबाब रहेको छ । यो हावा कांग्रेसतिर पनि सर्दै गइरहेको बालुवाटार निकट स्रोत बताउँछ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पाँच दलीय गठबन्धनको नेतृत्व गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ