- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्यले सञ्चालन गरेको अस्पताल उद्घाटन गर्न आएका संयुक्त अरब इमिरेट्स (यूएई) का अधिराजकुमारले सुनको लौरो उपहार दिएका छन् । तीन दिने नेपाल भ्रमणमा रहेका यूएईका अधिराजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका हुन् ।
लौरोमा सुनको लेपनमात्रै लगाइएको हो कि लौरो सिंगै सुनको हो भन्ने यकिन भएको छैन । सिंगो लौरो नै सुन भए करिब एक किलो सुन खर्च हुने देखिएको छ । एक किलो सुनको नेपाली मूल्य करिब ८५ लाख हुन आउँछ ।
‘सुनकै लौरो उपहार पाउने गरी उनले के त्यस्तो गुन लगाएका रहेछन्, यो उपहार पनि उनको वैध सम्पत्तिमा गणना हुनेछ’, झापाका एक नेताले भने । हरेक विषयमा ‘फण्डा’ गर्न रुचाउने प्रसाईले लौरो उपहार पाउँदा सो विषयलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ ।
‘उनकै पहलमा अधिराजकुमार नेपाल आएका हुन्, नेपाल बसाइको क्रममा पोखरा लगायतको स्थानमा घुमघामको कार्यतालिका रहेको छ । त्यसको खर्च पनि प्रसाईले व्यहोर्ने छन् । त्यसकारण पनि सुनको लौरो उपहार पाएका हुनसक्छन्’, ती नेताको दाबी छ ।
अधिराजकुमार श्री एयरलाइन्सको चार्टर विमानमार्फत झापा पुगेका थिए । उनले आफूलाई स्वागत गर्न पुगेका प्रसाईंलाई सुनको लौरो हस्तान्तरण गरेका थिए । अधिराजकुमार झापामा दुई दिन बस्ने कार्यतालिका रहेको छ ।
झापा बसाइका क्रममा अधिराजकुमार मोक्तुमले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको अवलोकनसँगै पेट सिटी स्क्यान मेसिनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
व्यवसायी प्रसाईंको विशेष निमन्त्रणामा अधिराजकुमार नेपाल आएका हुन् । उनले झापासँगै काठमाडौं र पोखराको पनि भ्रमण गर्ने कार्यतालिका रहेको बीएण्डसी अस्पतालले जनाएको छ ।
तीन दिने नेपाल भ्रमणका क्रममा नेपाल आइपुगेका उनी झापास्थित होटल मेची क्राउनमा बसेका छन् । काठमाडौं ओर्लने बित्तिकै झापा पुगेका राजकुमार माक्तुमले शनिबारको रात उक्त होटलमा बिताउने भएका हुन् ।