arrow

उपत्यकामा बिहानैदेखि मौसम खराब, घाम झुल्किन सकेन, यस्तो हुनेछ देशभर आज 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ९ बिहिबार
weather-2022-evergreen.jpg

काठमाडौं । आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थान तथा कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ । 

अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। 

काठमाडौं उपत्यकामा पनि मौसम बिहानैदेखि बदली भएको छ । घामसमेत झुल्किन सकेको छैन । दिनभर नै मौसम बदली हुने महाशाखाले जनाएको छ । 

पछिल्ला केही दिनदेखि मुलुकका धेरैजसो भागमा वर्षा भइरहेको छ । बुधबार लुम्लेमा सबैभन्दा बढी ८४.७ मिलिमिटर वर्षा भयो । 

आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

वर्षा नभएका स्थानहरुमा तापक्रम बढ्न सक्ने हुनाले त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि सबैमा अनुरोध गरिएको छ ।

शुक्रबार दिउँसो प्रदेश १ को एक(दुई स्थानमा तथा राति प्रदेश १ सहित गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

शनिबार प्रदेश १, बागमती र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ