arrow

सरकारी विद्यालयलाई प्रविधियुक्त बनाउँदै इक्वालिटी फाउन्डेसन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १० शुक्रबार
equality-foundation-terhathum.jpg

तेह्रथुम । अमेरिकाका रहेका नेपालीहरुको संस्था इक्वालिटी फाउन्डेसनले तेह्रथुमको एक विद्यालयलाई प्रविधिमैत्री बनाएको छ । हरेक गाउँबाट बाहिर गएकाहरुलाई ‘आफ्नो गाउँ जाउँ र प्रविधियुक्त बनाऊँ’ भन्ने नारासहित अभियान शुरु गरिएको तेह्रथुम जिल्ला संयोजक कविन्द्र सिटौलाले जानकारी दिए । 

उनका अनुसार पहिलो आफूले पढेको सरकारी स्कुलबाट अभियान थालिएको हो । शुक्रबार सिटौलाले अध्ययन गरेको विद्यालय श्री शारदा सेकेन्डरी हाइस्कुललाई सहयोग गरिएको छ । तेह्रथुम क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहनलाल सिटौलाको प्रमुख आतिथ्यमा उक्त अभियानको उद्घाटन गरिएको हो । 

एउटा विद्यालयलाई ल्याबसहित २० वटा कम्प्युटर दिएर प्रविधियुक्त बनाउने अभियानमा रहेको संयोजक सिटौलाले बताए । शुक्रबार भने सात वटामात्र कम्प्युटर उपलब्ध गराइएको छ । बाँकी कम्प्युटर छिट्टै प्रदान गरिने पनि उनले बताए । 

यो अभियान देशैभर संचालन गरिने भन्दै उनले स्थानीय तह र प्रदेश सरकारसँगको सहकार्यमा अभियान चलाइने बताए । छ महिनाभित्र थप सात वटा विद्यालयलाई सहयोग गर्ने प्रक्रियामा आफूहरु रहेकोसमेत संयोजक सिटौलाले बताए । 

कार्यक्रमका प्रमुख अतिथि, शिक्षा शास्त्री एवं साहित्यकार मोहनलाल सिटौलाले युवा पुस्तालेसमेत शिक्षा क्षेत्रमा योगदान दिएको भन्दै प्रशंसा गरे । उनले शिक्षा क्षेत्रमा सिटौला परिवारले लिगेसी राखिरहेको भन्दै खुशी व्यक्त गरे । 

यो अभियानले झापाका दुई वटा विद्यालयलाई सहयोग गरिसकेको छ । मुलुकका कतिपय विद्यार्थीले कम्प्युटर छोएकासमेत छैनन् । उनीहरुले पछि त्यही कम्प्युटर नछोएकै कारण विभिन्न अवसरहरु गुमाएका हुन्छन् । 

अभियानका तेह्रथुम संयोजक सिटौला बोर्डिङका विद्यार्थीले शुरुदेखि कम्प्युटर चलाउने र सरकारी विद्यालयका विद्यार्थीले कम्प्युटर नै नदेख्ने असमान शिक्षाबाट कोही पनि बञ्चित हुन नपरोस् भनी सरकारी विद्यालयलाई प्रविधियुक्त बनाउन खोजिएको बताए । 

उनले भने, ‘कोही कम्प्युटरमा काम गर्ने कोही कम्प्युटरको दर्शनसमेत नपाउने । अनि कसरी भयो त विश्व ग्लोबल भिलेजमा बराबरी ? ‘अनफेयर’ हटाउन हामीले ‘इक्वालिटी’ बनाउन खोजिरहेका छौं ।’

उनी अगाडि भन्छन्, ‘हाम्रो मुख्य उद्धेश्य नै देशभरका सरकारी विद्यालयलाई सहयोग गर्ने हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ