arrow

नेपाल आर्मी टिम च्याम्पियन, शिवराज र जयरानी उत्कृष्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १३ सोमबार
army-team-champion-athletics-2079-03-12.jpg

काठमाडौं । नेपाल आर्मी ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । आर्मीले १८ स्वर्ण, १२ रजत र ५ कास्यपदक जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो ।

नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा एपीएफ क्लब ९ स्वर्ण, ६ रजत ८ कास्यका साथ दोश्रो भयो । तेश्रो स्थानको बाग्मती प्रदेशले ३ स्वर्ण, २ रजत र ६ कास्य हात पार्यो । 

३२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी २ स्वर्ण नेपाल प्रहरी क्लबले जित्यो । प्रहरीले ३ रजत र ४ कास्य पनि हासिल गर्यो । सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी प्रतियोगितामा ६ टिम स्वर्णविहीन रहे ।

प्रतियोगिताको पुरुषमा एपीएफका शिवराज पार्की तथा महिलामा च्याम्पियन टोली आर्मीकी जयरानी थारु उत्कृष्ट खेलाडी घोषित भए । 

शिवराजले ३ स्वर्ण र १ रजत जिते । जयरानीले २ कीर्तिमानीसहित ४ स्वर्ण कब्जा  गरिन् । जयरानीको नाममा थप १ रजत पनि रह्यो । जयरानीले १ सय र ४ सय मिटर हर्डल्समा कीर्तिमान रचेकी थिइन् । 

प्रतियोगितामा कुल ३ राष्ट्रिय कीर्तिमान बने । थप १ कीर्तिमान आर्मीका जीवन थारुले पुरुष १ सय १० मिटर हर्डल्समा बनाएका थिए । जीवनले १ कीर्तिमानीसहित २ स्वर्ण र उत्तिनै रजत हात पारे । प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि ५ हजार नगद पुरस्कार प्रदान गरियो ।

विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । 

तीनदिने प्रतियोगितामा २ सय ४० खेलाडीको सहभागिता रहेको आयोजक संघका सचिव आरके विष्टले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ