arrow

सत्ता गठबन्धनमा दरार, प्रचण्ड–माधव–उपेन्द्रबीच अर्को गठबन्धनको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १४ मंगलबार
prachanda-madhav-upendra.jpg

काठमाडौं । सत्ता गठबन्धनमा रहेका तीन दलले एक आपसमा अर्को गठबन्धनको तयारी गरिरहेका छन् । सत्ता गठबन्धन दलका नेपाली कांग्रेस बाहेकका मुख्य तीन घटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजवादीका शीर्ष नेताहरुले अर्को गठबन्धनको तयारी गरेका हुन् । 

माओवादी अध्यक्ष प्रचण्ड, एस पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच धेरै पटक भएको छलफलका क्रममा यस्तो कसरत शुरु भएको हो । सोमबार बिहान एकीकृत समाजवादी पार्टीका तर्फबाट नयाँ मन्त्रीहरुको सपथ कार्यक्रम नसकिँदै सत्तारुढ दलका तीन नेताहरु गोप्य छलफलमा जुटेका थिए । 

बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरूको सपथ हुँदै गर्दा उनीहरु उपेन्द्र यादवको निवासमा गोप्य छलफलमा जुटेका थिए । ‘उहाँहरु यादवको निवासमा जानु भएको थियो’, माओवादीका एक नेताले भने ‘कांग्रेसले साह्रै पेलेको छ सोही बारेमा छलफल गर्न उहाँहरु जुट्नु भएको हो ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गरेका थिए । नेकपा एकीकृत समाजवादीले पठाएका नयाँ मन्त्रीलाई प्रधानमन्त्री देउवाको सिफारिसमा आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् । 

पुनर्गठित मन्त्रिमण्डलमा पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रममन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हीराचन्द्र केसीलाई नियुक्त गरिएको थियो । 

समाजवादीले गत जेठ २२ मै सरकारमा रहेका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । बजेट पास भएपछि मात्रै मन्त्रिपरिषद पुनर्गठन गर्ने सहमति सत्ता गठबन्धनभित्र भएको थियो । 

तर माओवादी अध्यक्षका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका विषयमा एस पार्टीका अध्यक्ष नेपाल जानकार भए पनि उनले कांगेसकै कारण अवरोध भएको बताउँदै बेग्लै अर्को समूह बनाउनु पर्ने प्रस्ताव गरेका थिए । 

समाजवदी पार्टीको रोग अन्य दलहरुमा पनि सरेको भन्दै माओवादी केन्द्रभित्र मन्त्री हेरफेरबारे कुराकानी चलिरहेको भए पनि प्रचण्डले त्यसलाई रोकेर राखेका छन् । तर एस पार्टीमा त्यही विषय ठूलो विवाद बन्यो । 

समाजवादीका सांसदसमेत रहेका मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठले राजीनामा दिएपछि उनीहरुको बारेमा पनि विभिन्न टिका टिप्पणीहरु आएको बखत पार्टीले कस्ता व्यक्तिहरुलाई सरकारमा पठाउने भन्ने बारेमा पनि छलफल हुन थालेपछि एस पार्टीले त्यसलाई नकारात्मक रुपमा लिएको छ । 

मन्त्रिपरिषद पुनर्गठनमा ढिलाई भएको विषयमा असन्तुष्ट बनेको एस पार्टीकै अगुवाइमा सोमबार विहान उपेन्द्र निवासमा भेटघाट भएको थियो । ‘संघीय संसदको निर्वाचनको मिति घोषणाको चर्चा परिचर्चासँगै तीन दलको गुट भेला भएको हो’, स्रोतले भन्यो  ‘उहाँहरुले निर्वाचन अघि नै सिट बाँडफाँडमा अडान लिने संभावना रहेको छ ।’ 

उनीहरुबीच भएको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि पनि उनीहरुले कांग्रेसले धोका दिएको भन्दै भेटघाट गरी छुट्टै गठबन्धन बनाउने प्रयास हुने गरेको थियो । 

आगामी संघ प्रदेशको चुनावमा गठबन्धनको तयारीमा रहेका सत्ता गठबन्धन दलका यी मुख्य तीन घटकबीच केही साता यता निरन्तर भेटघाट र छलफल भइरहेको छ । 

केही दिन अगाडि मात्रै पनि उपेन्द्रकै निवासमा प्रचण्ड, माधव नेपाल र उपेन्द्रबीचपटक पटक भेटवार्ता भएको थियो । सोमबार बिहान पनि यी तिनै दलका मूख्य शीर्ष नेताहरुबीचमा भेटघाट भएको थियो । 

जनता समाजवादीमा पनि मन्त्री फेर्न चर्को दवाब भए पनि उपेन्द्र यादव र डा बाबुराम भट्टराईका बीचमा देखा परेको अन्तरविरोधका कारण त्यो सम्भव हुन सकेको छैन । उपेन्द्रले त्यही भएरै सोमबार राति बैठक डाकेर सर्वाधिकार आफूले लिएर मन्त्री पठाउने र हटाउने अधिकार पाएका छन् । 

त्यसो त बाबुराम भट्टराई अहिलेको गठबन्धनबाट सन्तुष्ट छैनन् । उनी विस्तारै एमालेतिर लहसिएका छन् । गोरखामा उनको निर्वाचन क्षेत्र र नारायणकाजी श्रेष्ठको निर्वाचन क्षेत्र एउटै भएकाले पनि त्यहाँ समस्या उत्पन्न हुने अवस्था आएकाले स्थानीय तहको निर्वाचनपछि भट्टराई एमालेतिर लहसिएका हुन् । 

कांग्रेसले स्थानीय तहको निर्वाचनमा धोका दिएको विषयमा तीन दल सहमत भए पनि कांग्रेस बाहेक कुनै पनि स्थानमा एक्लै निर्वाचन लड्ने पक्षमा तीन दल रहेका छैनन् । 

उनीहरुले कुनै न कुनै रुपमा कांग्रेससँग सहकार्य गर्ने विषयमा यसअघि पनि छलफल गरेका थिए । तर एस पार्टीले भने यसपटक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ