'दलीय सङ्गठनबाट विश्वविद्यालयमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण'
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
315
Shares
काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक पार्टी र भ्रातृ सङ्गठनले विश्वविद्यालयहरूमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
उनले विश्वविद्यालयहरू खुल्नु र सञ्चालन हुनु राजनीतिबाट टाढा विषय नभए पनि दल र सङ्गठनबाट विरोधका नाममा तालाबन्दीजस्ता विकृत क्रियाकलाप हुनु उचित नभएको धारणा राखे।
उनले सत्तारूढ दलनिकटकै सङ्गठनले पनि विश्वविद्यालयमा तालाबन्दी गरेको सन्दर्भ उल्लेख गर्दै राजनीतिक क्षेत्रले विश्वविद्यालयहरूलाई सहीरूपमा सञ्चालनका लागि राजनीति गर्नुपर्ने बताए ।
हरेक विषयलाई सहीरूपीमा सञ्चालन गर्ने, मुलुकमा कति र कस्ता जनशक्ति आवश्यक हुन्छ भन्ने राजनीतिक नेतृत्वको सोच र विश्वविद्यालयका नेतृत्वबीचको तादात्म्य हुन आवश्यक भएकाले राम्रा विश्वविद्यालयमा प्राध्यापकहरूले विद्यार्थीलाई नेतृत्व विकासका लागि मार्गदर्शन गर्नुपर्नेमा जोड दिए ।
उनले आँकडाहरूले दुर्गमका आम जनतामा उच्च शिक्षाको पहुँच पुग्न नसकेको र गुणस्तरीय सिकाइमा प्राध्यापकहरूमा जिम्मेवारी नभएको स्थितिप्रति सम्बन्धित पक्ष गम्भीर हुनुपर्ने बताए ।