- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक राजधानीमा शुरु भएको छ । गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्ष बाहेकका अन्य पदाधिकारी चयन गर्न सकेको छैन । कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समितिको बैठक शुरु भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
बैठकको कार्यसूचीमा केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन रहेको छ । यस्तै बैठकमा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी कार्यदिशाका बारेमा पनि छलफल गरिने भएको छ ।
गत पुसमा सम्पन्न महाअधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरे पनि अन्य पदाधिकारी भने चयन गर्न सकेको थिएन । महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गर्नाका साथै २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको थियो ।
महाधिवेशनपछि पटकपटक सर्दै आएको बैठकले साङ्गठनिक काम कारवाहीका अलावा, मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीका बारेमासमेत छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।
बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका छन् । उनले नौं बुँदामा एजेन्डा प्रस्तुत गरेका छन् ।
जसमा सातौं नम्बरमा स्थानीय तहको निर्वाचन र आठौं नम्बरमा आगामी संघ र प्रदेशको चुनावका बारेमा एजेन्डा रहेको छ ।
प्रचण्डले जारी गरेका बुँदाहरुको प्रस्ताव पारित भएको छ र छलफल अगाडि बढेको छ ।