- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रको राजधानीमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संक्षिप्त राजनैतिक प्रतिवेदन’ प्रस्तुत गरेका छन् । मात्र १० पानाको प्रतिवेदनमा स्थानीय तहको निर्वाचनबाट आफ्नो पार्टीलाई फाइदा भएको उल्लेख गरिएको छ ।
स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनका दलहरूलाई अघिल्लो निर्वाचनभन्दा अहिले फाइदा भएको जनाउने क्रममा माओवादीले पनि १६ सिट बढी ल्याएको उल्लेख छ। त्यतिमात्र हैन जसपा र जनमोर्चालेसमेत २०७४ को तुलनामा अहिले केही सिट बढाएको उल्लेख छ ।
कसले कति सिट पाएको र कसले गुमाएको उल्लेख गरेका प्रचण्डले माओवादीले ९ प्रतिशत नगरपालिकामा जित्न सफल भएको उल्लेख गरेका छन् ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नौ एजेण्डामाथि छलफल भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबारबाट जारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले छलफलका लागि नौवटा एजेण्डा प्रस्तुत गरेका हुन् ।
तीन दिनसम्म चल्ने भनिएको बैठकमा अध्यक्ष प्रचण्डले सहिदहरूप्रति श्रद्धाञ्जली, केन्द्रीय समितिका नयाँ सदस्यको सपथ ग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेश समितिका अध्यक्ष र इञ्चार्जबाट प्रदेश स्थितिबारे रिपोर्ट, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय र संरचनाबारे, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारी र विविध गरी नौवटा एजेण्डा प्रस्तुत गरेका हुन् ।
सोही क्रममा प्रदेश समितिका अध्यक्ष र इञ्चार्जले आ(आफ्नो प्रदेशको स्थितिबारे रिपोर्ट पेस गर्दा जारी बैठकले नै पदाधिकारी टुंगो लगाउनुपर्ने बताएका छन् ।
बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पाँच दिनसम्म बैठक राखेर भए पनि पदाधिकारी टुंगो लगाउनुपर्ने बताए भने मधेश प्रदेशका इन्चार्ज गणेश शाहले मधेश प्रदेशको पदाधिकारी छिटो टुंगो लगाउनुपर्नेमा जोड दिए ।
स्थानीय तह निर्वाचनमा धाँधली भएकाले छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने र अन्तरघात गर्नेहरूलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।