- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा दुई दिने इमर्जिङ इसुज इन म्यानेजमेन्ट (व्यवस्थापनमा उदीयमान सवालहरू) शीर्षकमा राष्ट्रिय अनुसन्धानात्मक सेमिनार भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र पोखरा विश्वविद्यालयको सहकार्यमा सेमिनार भएको हो ।
कार्यक्रममा क्याम्पसले आफ्नो संस्थामा अध्यापनरत प्राध्यापक तथा क्याम्पसको एमबीएस् तहमा अध्ययनरत विद्यार्थी एवं पोखरालाई आफ्नो अध्ययन तथा अनुसन्धानको क्षेत्र बनाएका २० भन्दा बढी अनुसन्धाताका कार्यपत्रहरू प्रस्तुत भएका थिए ।
कार्यक्रममा धर्मराज बराल, मोहन भण्डारी, लालमणि पोख्रेल, राजकुमार सुवेदी, दुर्गानाथ पौडेल, सुरेन्द्र कार्की, जमुना अर्याल, सन्तोष भण्डारी, प्रकाशचन्द्र गिरी, विवेक कर्माचार्य, महेश्वर ढकाल, सञ्जय पौडेल, संगीता सिग्देल, युवराज सुवेदी, सागर सुवेदी, मनिषा रानाभाट, सन्तोषी सुनार, आशीष पौडेल, सिर्जना बराल आदिका व्यवस्थापन तथा अन्य विविध विषय क्षेत्रका कार्यपत्रहरू पेस भएका थिए ।
कार्यक्रममा विषय विज्ञका रूपमा प्रा. डा. लेखनाथ भट्टराई, प्रा. डा. टंकराज अधिकारी, डा. हरि पाठक, देवराज शर्मा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम बराल, सदस्य भुवानीप्रसाद भट्टराई, पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेजका निर्देशक डा. सिर्जन ज्ञवाली सहभागी थिए । उनीहरूले कार्यक्रममा प्रस्तुत भएका अनुसन्धानात्मक प्रतिवेदनमाथि टिप्पणी तथा सुझावसमेत राखेका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा. डा. टंकराज अधिकारीले कार्यक्रममा पेश भएका कार्यपत्रहरूलाई समेटेर क्याम्पसले आफ्नो अनुसन्धानमूलक जर्नलको विशेष अंक प्रकाशन गर्ने जानकारी दिए ।
कार्यक्रम शुभारम्भ गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमनारायण अर्यालले विश्वविद्यालय तहमा गरिएको अनुसन्धान देश, समाज तथा समग्र शैक्षिक क्षेत्रका लागि मार्गदर्शक बन्ने बताए । उनले फिनल्यान्ड जस्ता मुलुकले देशका सर्वोच्च प्रतिभालाई शिक्षण क्षेत्रमा आकर्षित र कक्षाका सर्वोच्च प्रतिभाहरू शिक्षण क्षेत्रमा सहभागी गराएका कारण शिक्षा क्षेत्रमा गुणात्मक फड्को मारेको दावी गरे ।
उनले विश्वविद्यालयले सबै संकायलाई सशक्त बनाउँदै लानुपर्नेमासमेत जोड दिए । शिक्षा संकायले शिक्षण परिपाटीमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने भन्दै उनले नेपालमा यस्तो हुन नसकेको दुःखेसो पोखे ।
पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. केशरजंग बरालले विश्वविद्यालयमा अनुसन्धानात्मक कार्यको महत्वपूर्ण भूमिका हुने बताए । नेपालमा पर्याप्त मात्रमा सम्भाव्यता रहेको भएपनि युवापुस्ता देशबाट पलायन हुँदै गएकोप्रति चिन्ता प्रकट गर्दै उनले देशमा निहीत जनशक्तिको उचित व्यवस्थापन नभए नेपालले आर्थिक फड्को मार्न नसक्ने स्पष्ट पारे ।
क्याम्पसका अनुसन्धान व्यवस्थापन समिति प्रमुख एवं सहायक क्याम्पस प्रमुख मोहन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख धर्मराज बरालले स्वागत र प्राध्यापक लालमणि पोख्रेलले कार्यक्रम सञ्चालन गरेका थिए ।