arrow

कृषिलाई यान्त्रीकरणमा जोड्दै गाउँपालिका 

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७९ असार ३० बिहिबार
arjunchaupai.jpg

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन यान्त्रीकरणमा जोड्ने गरी अगाडी बढेको छ । परम्परागत कृषि प्रणालीलाई हटाएर यान्त्रीकरण मार्फत कृषि उत्पादन बढाउने उद्देश्यले गाउँपालिकाले हाते ट्याक्टरको व्यवस्था मिलाएको हो । गाउँपालिकाले कृषकलाई अनुदानमा हाते ट्याक्टर र कम्बाइन मिल वितरण गरेर यान्त्रीकरण मार्फत किसानलाई आर्कशित गर्दैछ । 

पालिकाले कृषकहरूलाई आधुनिक कृषि प्रणालीमा जोड दिँदै ५० प्रतिशत अनुदानमा ३२ वटा हाते ट्याक्टर र ३२ वटा कम्बाइन मिल वितरण गरेको छ । किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई बदल्दै यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले हाते ट्याक्टर र कुटानी पिसनीको सहजका लागि कम्बाइन मिल वितरण गरेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए । गोरुले जोत्दा समय धेरै लाग्ने, खर्च तथा मेहेनत धेरै हुने बताउदै तिवारीले कुटानी पिसानीको लागि स्थानीयले पालो कुरेर गर्नुपर्ने बाध्यता हटाउन यो अभियान शुरु गरेको बताए । 

पालिकाले हरेक वर्ष मागको आधारमा प्राथमिकतामा राखेर हाते ट्याक्टर र कम्बाइन मिल प्रदान गरेको उपाध्यक्ष सपना गुरुङले बताइन् । पालिकामा उब्जनी हुने जमिन बाँझो हुने परिस्थिती सिर्जना हुन थालेपछि यान्त्रीकरण मार्फत सहज हुने अपेक्षा राखेर कृषि सामाग्री उपलब्ध गराएको उनको भनाई छ । 
 
पुर्खौली अवस्थादेखि नै दिनभरि लगाएर खेतबारी जोत्न धेरै मेहेनत गर्नुपरेको र समयमै गोरु नपाउँदाको पिडा सुनाउँदै अर्जुनचौपारी ४ का रिकु सार्कीले अब त एक दुई घण्टामै आफ्नो खेत बारी जोत्न सकिने र गोरु खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । छिमेकीकोमा जोत्ने लगायतका काम गरेर जीविकोपार्जन गरेको बताउदै सार्कीले अब हाते ट्याक्टरबाट गाउँमा काम गर्ने वातावरण पालिकाले मिलाएकोमा खुशी व्यक्त गरे । 

बजारदेखि टाढा घर रहेको र कुटानी पिसनीको लागि धेरै दुख काटेको बताउदै वडा नं १ कटुवाकी सुधा कार्कीले अब कम्बाइन मिलले सहज हुनेमा ढुक्क छिन् । कुटानीका लागि आउने अन्यलाई पनि सेवा दिने बताइन् । पालिकाले तीन हर्ष पावरको कम्बाइन मिल ३२ वटा तथा छ हर्ष पावरका २० वटा र १२ वटा सात हर्ष पावरका हाते ट्याक्टर बितरण गरेको छ । ५० प्रतिशत अनुदानमा वितरण गरिएको कम्बाइन मिललाई १४ हजार ९९० तथा छ हर्ष पावरको हाते ट्याक्टरलाई २३ हजार २५५ र सात हर्ष पावरको २६ हजार आठ सय तितेर कृषकले प्राप्त गरेका हुन् ।

आवश्यकता, टोल, विगतमा अनुदान लिएको हेरेर होते ट्याक्टर कम्बाइन मिल वितरण गरेको बताउदै प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बस्नेतले धेरै माग हुँदा सबैलाई दिन नसकेको र फेरी खरिद गरी वितरण गरिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ