arrow

मुलुकमा वैदेशिक मुद्रा भित्र्याउन ग्लोबल आइएमई बैङ्कको पहल

लण्डनमा विदेशी मुद्रामा खाता खोल्ने तथा नेपालमा वैदेशिक लगानीसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
global-ime-uk-interaction.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडले नेपाली बैङ्कमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी विषयमा बेलायतको लण्डनमा सोमबार वृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

संयुक्त अधिराज्यको लण्डनस्थित बैङ्कको वैदेशिक प्रतिनिधि कार्यालय र सृजनशील लेस्टर नेपाल, युकेद्वारा संयुक्त रूपमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैङ्कले विदेशमा रहने नेपालीहरूलाई लक्षित गरी नेपाली बैङ्कमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिइएको थियो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीहरूलाई विदेशी मुद्रामा खाता खोल्ने सुविधा दिएको सम्बन्धमा जानकारी गराएका थिए।

“यसमा नेपाली बैङ्कमा विदेशी मुद्रामा खाता खोलेर पैसा जम्मा गर्न सकिने, आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ। भिसा कार्ड तथा मास्टर कार्डमार्फत यहाँहरूले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरूले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा रहेको छ,” उनले बताए।

नेपालको प्रतिष्ठित व्यावसायिक समूह आइएमई समूहका अध्यक्ष ढकालले आइएमई समूहले नेपाल सरकारको प्राथमिकता र मुलुकको आवश्यकता अनुरूप आफ्ना व्यावसायिक गतिविधिहरू अगाडि बढाउँदै आएको बताए।

आइएमई रेमिट हामीले सुरु गरेको २२ वर्ष पुगेको छ। विगत २२ वर्षमा आइएमईले नेपालमा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन ठूलो योगदान गरेको छ। हामीले रेमिट्यान्स सेवा सुरु गर्दा मुलुकमा रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन रेमिट कम्पनीको आवश्यकता थियो। आज आइएमई नाम आफैमा रेमिटको पर्यावाची बनेको छ। अन्य बैङ्क तथा रेमिट कम्पनीहरूमा जाने ग्राहकहरूले पनि पैसा पठाउन पर्‍यो भने आइएमई गरिदिनुस् भन्ने गरेको पाइएको छ, उनले भने।

त्यसै गरी, अहिले मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेको र रेमिट्यान्सको आप्रवाह पनि घटेको अवस्थामा नेपाली बैङ्कमा विदेशी मुद्रामा खाता खोल्ने र नेपालमा थप वैदेशिक लगानी भित्राउनुपर्ने छ, यसमा पनि हामी फ्रन्टलाइनमा रहेर काम गर्न चाहन्छौँ, उनले भने।

उनले मुलुकको अर्थतन्त्रमा देखिएको सङ्कट टार्न र मुलुकलाई थप आर्थिक सङ्कटबाट मुक्त गर्न सबै नेपालीहरूले भूमिका खेल्नुपर्ने बताए।

यसका लागि तपाईँहरूले नेपाली बैङ्कमा विदेशी मुद्रामा खाता खोलिदिनुपर्‍यो। नेपालमा थप वैदेशिक लगानी भित्र्याउन सहजीकरण गरिदिनु पर्‍यो, उनले भने।

गैर आवासीय नेपाली सङ्घसँग आफूहरूको सहकार्य सुरु भइसकेको बताउँदै उनले गैर आवासीय नेपालीहरूले स्थापना गरेको एनआरएन फन्डबाट लगानी जुटाई लम्जुङ्ग जिल्लामा २७ मेगावाटको जलविद्युत आयोजना निर्माण सकिएर टेस्टिङ्गको चरणमा रहेको बताएका छन्।

उक्त अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाल राष्ट्र बैङ्कले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारेमा प्रकाश पारेका थिए।

कार्यक्रममा सृजनशील लेस्टर नेपाल, युकेका पदाधिकारीहरू, गैर आवासीय नेपाली सङ्घका प्रतिनिधिहरू तथा नेपाली समुदायको ठूलो सहभागिता रहेको थियो।

यसअघि नेपलिज एकाउन्टेन्स् एसोसिएसन, युकेसँगको अन्तरक्रियामा बैङ्कका अध्यक्ष ढकालले नेपालमा वैदेशिक लगानीका लागि युकेका व्यवसायी तथा लगानीकर्ताहरूलाई सहजीकरण गर्न एसोसिएसनलाई आग्रह गरेका छन्।

लगानी प्रतिफलको हिसाबले पनि नेपाल लगानीका लागि उपयुक्त मुलुक भएको बताउँदै, उनले धेरै भन्दा धेरै वैदेशिक लगानी भित्र्याउन युकेमा रहेका नेपालीहरूले नै भूमिका निभाउनुपर्ने बताए।



नयाँ