arrow

एमाले स्याङजाका प्रभावशाली नेता कारबाहीमा 

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७९ असार ३२ शनिबार
bhupraj-adikari-uml-syangja.jpg

स्याङ्जा । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पाटीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा नेकपा एमाले स्याङ्जाले नेता तथा कार्यकर्ताहरुलाई कारबाही शुरु गरेको छ । 

निर्वाचन सम्पन्न पछि नेकपा एमालेले स्याङ्जाका ११ ओटै स्थानीय तहमा गरेको समीक्षाको आधारमा स्पष्टीकरण पछि कारबाही शुरु गरेको हो । स्थानीय तह निर्वाचन २०७९ मा नेकपा एमालेले ११ पालिका मध्ये ५ मा प्रमुख उपप्रमुख र एक पालिकामा प्रमुख पदमा विजयी हासिल गरेको थियो भने कांग्रेसले ५ प्रमुख उपप्रमुख र एक पालिकामा उपप्रमुख पदमा विजयी हासिल गरेको थियो । 

संघ र प्रदेशको निर्वाचन आउनु अगावै एमालेले पार्टीलाई क्षति पुर्याउने नेता तथा कार्यकर्ताको पहिचान गरी कारबाही गरेको छ । स्थानीय तहमा सम्भावना भएका पालिकामा समेत एमालेले पराजय व्यहोरेपछि धमाधम स्पष्टीकरणसहित केही नेताहरुलाई कारबाही गरिएको नेकपा एमाले स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैह्रेले जानकारी दिए । 

एमाले स्याङ्जाले गल्याङ नगरपालिकाका निवर्तमान नगर प्रमुख भुपराज अधिकारीलाई कारबाही गरेको जनाएको छ । एमाले जिल्ला अध्यक्ष गैह्रेले पार्टीको विधानको धारा ८० को उपधारा (१), (२), (३), (४), (५) र (६) को उल्लघंन गरेकोले पार्टीको जिल्ला सदस्य र अन्य सम्पुर्ण पदिय जिम्मेवारीबाट ६ महिनाका लागि निलम्वन गरिएको जानकारी दिएका छन् । 

अध्यक्ष गैह्रेले हस्ताक्षर गरेको पत्रमा असार १३ गते बसेको जिल्ला बैठकले निर्णय गरे अनुसार दुई पटक सम्म स्पष्टीकरण माग गर्दा पनि कुनै जवाफ नआएकालेले जिम्मेवारीबाट हटाइएको उल्लेख छ । 

नेकपा एमालेले असार २० गते ३ दिनको र असार २८ गते २ दिनको समय दिएर अधिकारीसँग स्पष्टिकरणको जवाफ मागेको थियो । अधिकारीलाई ९ ओटा प्रश्नको स्पष्टीकरण माग गरिएको एमालेले जनाएको छ । 

स्थानीय तह निर्वाचन २०७९ मा गल्याङ नगरपालिकामा नगर प्रमुखको उ्रम्मेदवारमा एमाले जिल्ला अध्यक्ष गैह्रे नै थिए । उनी नेपाली कांग्रेसका जिल्ला सचिव गुरुप्रसाद भट्टराईसँग ६ सय ९९ मतान्तरले पराजित भएका थिए । 

कारबाहीमा परेका अधिकारी गल्याङ नगरपालिकामा एमालेको खम्बाका रुपमा परिचित थिए । नेकपा एमालेको जिल्ला अधिवेसनमा सचिव पदमा पराजित भएका अधिकारीलाई गल्याङ नगरपालिकामा भएको स्थानीय तहको निर्वाचनमा असहयोग गरेको आरोपमा कारबाहीमा  परेका हुन् । नेकपा एमाले स्याङजा श्रोतका अनुसार स्थानीयतह निर्वाचनमा पार्टीलाई असहयोग गर्ने धेरै नेता तथा कार्यकर्ता कारवाहिमा पर्ने बताइएको छ । 


के छ एमाले विद्यानको धारा ८० मा 
नेकपा एमालेको विधानको धारा ८० मा अनुशासन उल्लघंन गरेको मानिने छ भनिएको छ । जसको उपधारा (१) मा पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षामा सार्वजनिक क्रियाकलाप गरेमा । 
उपधारा (२) मा पार्टीभित्र गुटबन्दी वा षड्यन्त्र वा विपक्षीलाई सहयोग पु-याउने कार्य वा पार्टीविरुद्ध शत्रुवत व्यवहार गरेमा, 
उपधारा (३) मा पार्टी निर्णय उल्लघंन गरेमा वा पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेमा । 
उपधारा (४) मा पार्टीप्रति निष्ठा र विश्वास नरहेको भनी सार्वजनिक अभिव्याक्ति दिएमा वा सो बमोजिम क्रियाकलाप गरेमा वा पार्टीको गोपनियता भङ्ग गरेमा । 
उपधारा (५) मा पार्टीद्धारा संचालित आन्दोलनको विरुद्धमा गतिविधि गरेमा वा विरोधीसगँ साँठगाँठ गरेमा । 
उपधारा (६) मा कुनै जनप्रतिनिधिमुलक संस्थाको निर्वाचनमा पार्टीको निर्णयविपरीत उम्मेदवार बनेमा, पार्टीको उम्मेदवारविरुद्ध प्रचार गरेमा वा पार्टीको उम्मेदवारका विरुद्धमा उठ्ने अन्य कुनै उम्मेदवारको प्रस्तावक वा समर्थन बनेमा वा त्यस्तो उम्मेदवारको पक्षमा कुनै काम गरेमा । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ