arrow

पूर्वअर्थमन्त्री शर्मालाई बयानका लागि बोलाइयो, आज पूर्वअर्थसचिवहरुसँग छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
janardan-sharmas.JPG

काठमाडौं । करका दर हेरफेर गर्न बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोपमा सत्यतथ्य छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाउने भएको छ । 

समितिको मंगलबार बसेको बैठकले शर्मालाई बयानका लागि बोलाउने निर्णय गरेको हो । समितिले समय भए आज र समय नभए भोलिसम्ममा बयान लिइसक्ने पनि जनाएको छ । संसदमा निरन्तर शर्माको गतिविधिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षसहित सत्तारुढ दलका सांसदहरुलेसमेत शर्माको राजीनामा मागेपछि उनी अन्तिम समयमा राजीनामा दिन वाध्य भएका थिए । 

तर अर्थ मन्त्रालयको गत जेठ १४ गते रातिको सीसीटीभी फुटेज भने डिलेट गरिसकेको आरोपसमेत लागेको छ । सीसीटीभी फुटेज रिकभरका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाको सहयोग लिने निर्णय भएको छ । 

बजेट निर्माणको क्रममा जेठ १४ गते अनधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गरेको विषय बाहिरिएपछि त्यस विषयमा संसदीय समितिले छानबिन गरेको हो । 

गत असार २२ गतेमात्रै सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति बनाएका हुन् ।

समितिको बैठकले आज पूर्वअर्थसचिव रामेश्वर खनाल, शिशिर ढुंगाना र शान्तराज सुवेदीलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । त्यसैगरी बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको बारेमा पहिलो पटक समाचार लेख्ने अन्नपूर्ण दैनिकका पत्रकारसहित यस विषयमा समाचार लेखिरहेका अन्य पत्रकारलाई पनि छलफलका लागि बोलाउने निर्णय गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ