arrow

ग्लोबल आइएमई बैङ्कको नाफा ५ अर्ब २० करोड रुपैयाँ, अघिल्लो आर्थिक वर्षभन्दा २५ प्रतिशतले वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
global-ime-bank-head-office.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडले गत आर्थिक वर्ष २०७८-७९ मा ५ अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैङ्कले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो नाफा २५ प्रतिशतले वृद्धि गरेको हो। आर्थिक वर्ष २०७७-७८ मा बैङ्कले ४ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। बैङ्कको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैङ्कको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेको छ भने खुद फी तथा कमिसन आम्दानी ९.२७ प्रतिशतले बढेको छ। बैङ्कको कूल सञ्चालन आम्दानी १५.०४ प्रतिशत र सञ्चालन मुनाफा २६.९० प्रतिशतले बढेको छ। गत वर्षको असार मसान्तसम्म बैङ्कको वितरण योग्य मुनाफा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ।

बैङ्कले गत आर्थिक वर्षमा कूल २ खर्ब ८६ अर्ब बचत सङ्कलन गरेको छ भने २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैङ्कको बचत तथा कर्जा लगानी सकारात्मक रूपमा वृद्धि भएको छ।

बैङ्कको कूल ब्याज आम्दानी १० अर्ब ७४ करोड रहेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १७.५२ प्रतिशतले बढेको छ।

बैङ्कको नाफा सँगै प्रति शेयर आम्दानी ( ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा बैङ्कको ईपीएस अघिल्लो आर्थिक वर्षको तुलनामा २ रुपैयाँ ६३ पैसा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ।

समीक्षा अवधिमा बैङ्कको चुक्ता पुँजी १० प्रतिशतले बढेको छ। त्यसै गरी जगेडा कोष २०.४२ प्रतिशतले बढेको छ।

बैङ्कले आफ्नो खराब कर्जामा पनि सुधार ल्याएको छ। अघिल्लो आर्थिक वर्ष १.४१ प्रतिशतमा रहेको खराब कर्जा घटेर १.२२ प्रतिशतमा झरेको छ।

मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैङ्कले २६२ एटिएम, २७५ शाखा रहित बैङ्किङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट २९ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

त्यसै गरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ