arrow

हत्या गरी खेतमा गाडेको अवस्थामा निशाको शव फेला, तीनजना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ७ शनिबार
death photo.jpg

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका-१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो । 

महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

हत्यामा संलग्न मृतक निशा यादवका श्रीमान रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । निशाका घरका सदस्यहरुमाथि प्रहरीको शङ्का लागेपछि प्रविधियुक्त विश्लेषण गर्ने क्रममा हत्यामा संलग्नहरुको पहिचान हुन सकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता यादवले जानकारी दिए । ससुराली पक्षले निशाको हत्या गरी आफ्नै धान खेतमा खाल्डो खनी गाडेको थियो । आज सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलसमेत अनुसन्धान टोली घटनास्थलमा पुगेर धान खेतमा खाल्डो खन्दा सडिसकेको अवस्थामा शव फेला परेको छ । 

निशालाई गएको जेठ २२ गतेका दिन नै हत्या गरिएको प्रहरीले जनाएको छ । महोत्तरी सोनमा गाउँपालिका–१ मगरथाना निवासी निशा यादवको गत वर्ष फागुनमा रमजेशकुमार रायसँग बिवाह भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ