- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संघीय संसदको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग सिटको बार्गेनिङ गरिरहेका बेला आधा–आधा कार्यकाल र शुरुको प्रधानमन्त्री दाबी गरेका छन् ।
प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व माआवादी केन्द्रले गर्ने दाबी गर्ने बताउँदै आधा–आधा कार्यकालमा शुरुको प्रधानमन्त्री प्रचण्डले पाउनुपर्ने दाबी गरेका हुन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा बोल्दै आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने बताए लगत्तै अध्यक्ष प्रचण्डले आधा कार्यकालको विषयमा सहमति भैसकेको र बाँकी शुरुको प्रधानमन्त्री को बन्ने भन्ने बारेमा सहमति हुन नसकेको बताए । उनले शुरुको प्रधानमन्त्री माओवादीले पाउनुपर्ने दाबी गरेको बताएका थिए ।
प्रचण्डले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेता र कार्यकर्ताको संख्या बढिरहेको भन्दै यसले माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताएका थिए ।
प्रचण्डले माओवादीकै जोडबलमा शुक्रबार संघीय संसद्बाट नागरिकता विधेयक पारित हुनु पनि पहिलो कार्यकालको प्रधानमन्त्री माओवादीकै हुने बताएका थिए ।
कांग्रेससँग ७५ सीटको बार्गेनिङ गरेको माओवादीले आधा कार्यकालको पहिलो प्रधानमन्त्री पनि सार्वजनिक रुपमै दाबी गरेको छ ।
उनले त्यतिमात्र गरेका छैनन् नागरिकता विधेयकमा पनि छल गरेका छन् । खासगरी नागरिकता विधेयक पास हुनुमा गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणको अथक मेहनत भए पनि उनले आफ्नो कारणले नागरिकता विधेयक आएको बताउँदै कांग्रेसभन्दा एक तहमाथि हुन खोजेका छन् ।
त्यही आधारमा आफूले आधा कार्यकालमा शुरुको प्रधानमन्त्री आफूले पाउनुपर्ने दाबी गरेका हुन् । उनले तराई मधेसमा पुगेर पनि सोही कुरा दोहोर्याएका छन् ।
उनले आफ्नै कारणले नागरिकताको समस्या समाधान भएको बताएका छन् । शनिबार सर्लाहीको बागमती नगरपालिकास्थित सोल्टी बजारमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकताको समस्या समाधान भएको बताएका थिए ।
‘नागरिकता विधेयक पास भएपछि जनताको समस्या समाधान भयो । यसबाट म निकै उत्साहित भएको छु,’प्रचण्डले भनेका थिए ।
शुक्रबार प्रतिनिधि सभामा सरकारले पेस गरेको नागरिकता विधेयक बहुमतले पारित गरेको थियो । लामो समयदेखि विवादित बनेको उक्त विधेयक शुक्रबार पारित भएको हो । उनले मधेशका जनताको मुख्य समस्याका रुपमा रहेको नागरिकताको समस्या अब समाधान भइसकेको दाबी गरेका थिए ।
‘६ लाख बढी युवा नागरिकताविहीन बनेको अवस्थामा सरकारले नागरिकता विधेयक पास गराएर घाउमा मल्हमपट्टी लगाउने काम गरेको छ,’ उनले भने । कार्यक्रममा उनले चुनावी वामपन्थी मोर्चा बनाउन कुरा छिट्टै निष्कर्षमा पुग्ने घोषणा पनि गरेर पुनः कांग्रेसलाई धम्क्याएका छन् ।
उनले बारम्बार वामपन्थी शक्तिबीच गठबन्धन हुने बताउँदै आएका छन् । उता माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठले पनि गठबन्धनको नाममा कांग्रेसको एकलौटी कुरा अस्वीकार गर्ने बताएका छन् ।
उनले पनि कांग्रेसबाट जतिसक्दो बढी सिट लिएर आधा कार्यकाल सरकारको नेतृत्व र शुरुको प्रधानमन्त्री माओवादीले पाउनुपर्नेमा जोड दिएका छन् । ‘नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ती हामीलाई सधैं स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै ध्यान बुझोस्, हाम्रो पार्टीले गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दाहरु सम्झौता हुन सक्दैन भनेर गम्भीरतापूर्वक सोच्नै पर्ने भएको छ । गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन,’ उनले सामाजिक सञ्जालमा धम्की दिएका छन् ।