- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी (एस) पार्टीका नेता कार्यकर्तालाई एमालेमै फर्कनबाट रोक्ने प्रयासमा लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एस पार्टीलाई माओवादीको चुनाव चिन्ह हँसिया हथौडा प्रयोग गर्न दिने भएका छन् ।
समाजवादी केन्द्र निर्माणमा लागेका प्रचण्डले एस पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग सो प्रस्ताव राखेका हुन् । ‘कांग्रेसले धोका दिन सक्छ अब समाजवादी केन्द्र निर्माण गर्ने र सो केन्द्रमा सहभागी दलहरुले एउटै चुनाव चिन्ह हँसिया हथौडा प्रयोग गर्ने प्रस्ताव गरिएको छ’, स्रोतले भन्यो ।
माधव नेपालले भने हँसिया हथौडमा चुनावमा जान आनाकानी गरिरहेको स्रोतको दाबी छ । उनी आफ्नो दलमा कुराकानी गर्ने भन्दै फर्केका थिए भने निकट भविष्यमा समाजवादी पार्टी निर्माण गर्न लागेका जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले त्यसमा सहमति जनाइसकेका छन् ।
समाजवादी केन्द्र निर्माण गर्ने र एउटै चुनाव चिन्ह प्रयोग गर्ने विषयमा छलफल बहस अघि बढेको बेला नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुषालले प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा प्रचण्डसँग भेट्न वामदेव र घनश्याम पुगेका हुन् । वाम पार्टीहरुसँग मोर्चाबन्दीको प्रयास गरी समाजवादी केन्द्र निर्माणको प्रस्ताव गरिरहेका प्रचण्डसँग वामदेवले भेट गर्नुलाई निरन्तरताको छलफलकै रुपमा लिइए पनि सोही छलफलमा एमालेका नेता घनश्यामसम्मको सहभागीतालाई राजनीतिक महत्वको रुपमा लिइएको छ ।
विगतमा गौतम निकट मानिने नेता भुषालले प्रचण्डसँग वाम गठबन्धनको कुरा गरेका थिए । उनले कांग्रेससँगको सहकार्य छाडेर आएमा एमालेले गठबन्धनका लागि खुला छाती बनाउने धारणा राखेको भुषाल निकट स्रोतले भन्यो ।
गौतम भने पछिल्लो दिनमा फेरि प्रचण्ड, माधव, झलनाथ खनाल लगायतका नेताहरुसँगको निरन्तर सम्वादमै छन् । तर प्रचण्ड, घनश्याम र वामदेवका बीचमा संयुक्त भेट भएको भने नेकपा विभाजनपछि नै यो पहिलो भएकाले यसलाई राजनीतिक अर्थमा लिइएको छ ।
पछिल्लो पटक एमालेभित्र मौन रहेका भुषाललाई अर्थ विभागको प्रमुख दिइएको छ । सो विभागमा रहेका एम अधिकारी (नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएको दाबी भइरहेको) को खोजी भैरहेको बेला उनले प्रचण्ड र गौतमसँग सामूहिक कुराकानी गरेका हुन् ।
सोमबार साँझ गौतमसहित भुषालले प्रचण्डलाई एमालेसँग सहकार्य गर्न आग्रह गरेका थिए । तर प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ अझै बढेकाले तत्काल सम्भव नहुने धारणा राखेको स्रोतको दाबी छ ।
प्रचण्डले एस पार्टीका अध्यक्ष माधव नेपाललाई एमालेसँग सहकार्य गर्न अरुची रहेकोसमेत बताएका थिए । ‘कुराकानी राम्रै भयो, वामगठबन्धनको विषयमा कुराकानी भएको हो यसमा कुनै अन्यथा छैन’, एमाले नेता भुषालले भने ‘उहाँहरु सकारात्मक हुनुहुन्छ ।’