- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बाल्यावस्थामा गोस्वामी तुलसीदासको नाम रामबोला थियो। उनको जन्म संवत् १५५४ मा भएको हो । जन्म लिएपछि बालक तुलसीदास रोएनन् उनको मुखबाट रामको शब्द निस्कियो। जन्मदेखिनै उनको मुखमा बत्तीस दाँत थिए । काशीमा शेषसनातनजीसँग रहेर तुलसीदासजीले वेद-वेदांगहरुको अध्ययन गरे।
संवत् १५८३ मा तुलसीदासको विवाह भयो। उनी आफ्नो श्रीमतीलाई धेरै माया गर्थे। एक पटक उनकी श्रीमती आफ्नो माइत गइन् तब उनी पछि लागे र ससुराली पुगे। श्रीमतीले जब यो देखिन् तब उनले तुलसीदासलाई भनिन्, 'जति तपाईँलाई मप्रति आशक्ति छ, त्यसको आधी पनि यदि भगवानमा भएको भए तपाईँको कल्याण हुने थियो । श्रीमतीको यो कुरा सुनेर तुलसीदासमा वैराग्य उत्पन्न भयो र उनले घर-परिवार छोडेर सन्त बने ।
तीर्थाटन गर्दै तुलसीदासजी काशी गए। त्यहाँ उनीसँग एक प्रेतको भेट भयो, जसले उनलाई हनुमानजीको ठाउँ बतायो। हनुमानजीसँग भेटेर तुलसीदासजीले श्रीरामको दर्शन गराउन प्रार्थना गरे। तब हनुमानजीले भन्नुभयो,' तपाईँको चित्रकूटमा श्रीरामको दर्शन हुनेछ।' यो सुनेर तुलसीदासजी चित्रकूट गए। त्यहाँ उनको श्रीरामको दर्शन भयो तर उनी भगवानलाई चिन्न सकेनन्।
तब हनुमानजीले भने, 'बिहान फेरी तपाईँलाई श्रीरामको दर्शन हुनेछ।' संवत् १६०७ को मौनी अमावस्यामा श्रीराम बालक रूपमा प्रकट हुनुभयो र उहाँले तलुसीदाससँग चन्दन माग्नुभयो। तब हनुमानजीले तोतेका रूप धारण गरेर यो दोहा भने- 'चित्रकूट के घाट पर भइ संतन की भीर। तुससीदास चन्दन घिसें तिलक देत रघुबीर।'
तुलसीदासले बुझे कि यही श्रीराम हुन्। श्रीरामले स्वयं आफ्नो हातबाट तुलसीदासजीको निधारमा चन्दन लगाउनुभयो र अन्तर्धान हुनु भयो ।
एक रात जब तुलसीदासलाई सपनामा भगवान् शंकरले आदेश दिनुभयो, ' तिमि आफ्नो भाषामा काव्य रचना गर।' तुरुन्तै तुलसीदासजीको निन्द्रा खुल्यो र उनी उठेर बसे। तब त्यहाँ भगवान् शिव र पार्वती प्रकट हुनुभयो र भन्नुभयो, ' तिमि अयोध्यामा गएर बस र काव्यको रचना गर। मेरो आशीर्वादबाट तिम्रो रचना सामवेद समान फलवती हुनेछ ।' भगवान् शिवको आज्ञा मानेर तुलसीदासजी अयोध्या गए ।
संवत् १६३१ को रामनवमीको बिहान तुलसीदासजीले श्रीरामचरितमानसको रचना प्रारम्भ गरे। दुई वर्ष सात महिना छब्बीस दिनमा ग्रन्थको समाप्ति भयो । संवत् १६३३ को मार्गशीर्ष शुक्लपक्षमा राम विवाहको दिन यस ग्रन्थको सात काण्ड पूर्ण भए र भारतीय संस्कृतिलाई श्रीरामचरितमानसको रूपमा अमूल्य निधि प्राप्त भयो ।
यो ग्रन्थ लिएर तुलसीदासजी काशी गए। राति तुलसीदासजीले पुस्तक भगवान् विश्वनाथको मन्दिरमा राखे। बिहान जब मन्दिरको पट खुल्यो तब त्यसमा सत्यं शिवं सुन्दरम् लेखिएको थियो। र तल भगवान् शङ्करको हस्ताक्षर थियो । त्यस समय उपस्थित मानिसहरूले सत्यं शिवं सुंदरमको आवाज पनि आफ्नो कानले सुने ।
अन्य पण्डितहरूले जब यो कुरा सुने तब उनीहरूको मनमा तुलसीदासजीप्रति ईर्ष्या भयो। उनीहरूले दुई चोरलाई श्रीरामचरितमानस चोर्नको लागि पठाए। चोर जब तुलसीदासको कुटि नजिक पुगे तब उनीहरूले देखे दुई वीर पुरुष धनुष बाण लिए पहरा दिइरहेका छन्। उनीहरू निकै सुन्दर थिए। उनीहरूको दर्शनबाट चोरहरूको बुद्धि शुद्ध भयो र भगवानको ध्यान गर्न थाले ।
एक पटक पण्डितहरूले श्रीरामचरितमानसको परीक्षा लिने बिचार गरे। उनीहरूले भगवान् काशी विश्वनाथको मन्दिरमा सबैभन्दा माथि वेद, त्यसको तल शास्त्र, शास्त्रहरूको तल पुराण र सबैभन्दा तल श्रीरामचरितमानस ग्रन्थ राखेर मन्दिर बन्द गरे। बिहान जब मन्दिर खोलियो तब श्रीरामचरितमानस वेदहरूभन्दा माथि थियो। यो देखेर पण्डितहरू लज्जित भए। उनीहरूले तुलसीदाससँग क्षमा मागे र श्रीरामचरितमानसलाई सर्व प्रमुख ग्रन्थ माने।
तीनै गोस्वामी तुलसीदासको साउन महिनाको शुक्ल पक्षको सप्तमी तिथिमा जन्म भएको थियो। जुन आज परेको छ। उनैले श्रीरामचरित मानस लगायत १२ ग्रन्थ लेखेका हुन्। श्रीरामचरितमानसपछि विनय पत्रिका उनको एक अन्य महत्त्वपूर्ण काव्य हो।