arrow

यौन ईर्स्याभन्दा यौन इच्छा पूरा गर्नु राम्रो 

logo
डा. बद्रीप्रकाश ओझा,
प्रकाशित २०७९ साउन २१ शनिबार
sex-dr-badri-prakash-ojha.jpg

ओशो तपोवनमा जनमत पार्टीका नेता डा. सीके राउत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ध्यान गर्दै गरेको र नाचेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धेरै नै प्रतिक्रिया आए । तीमध्ये कुनै कुनै प्रतिक्रियामा तपोवनमा यौन मजा लिन गएका हुन् पनि भन्न भ्याए । 

मानिसलाई किन अर्काे कोही खुशी भएको देख्दा ईर्स्या लाग्छ ? यसका केही कारण छन् । ओशोकै कुरा गरौं । उनका अनुसार यौन एक कच्चा उर्जा हो यसलाई रुपान्तरण गर्न सकिन्छ । उर्जाको वैज्ञानिक सिद्धान्त छ । यो कहिल्यै नष्ट हुँदैन तर एक रुपबाट अर्कोमा बदलिन्छ । 

जस्तै शरीर मरेपछि पोलिन्छ । खरानी बन्छ । खरानी बिरुवाका लागि औधी राम्रो खाद्यवस्तु बन्छ । खोलामा बगाए पनि कुनै न कुनै कुलोबाट खेतमा पुग्छ र हामीले खाने धान उत्पादनमा सहज बनाइदिन्छ । धानबाट हामी खाना खान्छौं । बढ्छौं । मर्छौं र फेरि धानका लागि खाद्य वस्तु बन्छौं । यो एक प्राकृतिक ‘इकोसिस्टम’ पनि हो ।

यौन उर्जा पनि यस्तै हो । यसले उपयुक्त गर्भ पाए मानिस बनाइदिन्छ । त्यो त उर्जाको तल बग्ने गुणको कुरा भयो । तर त्यही उर्जालाई यदि हामीले माथितिर अथवा यौनाङ्गबाट फाल्ने नभइ हृदय हुँदै मष्तिष्कतिर अझ आध्यात्मिक भाषामा भन्दा सहस्रार चक्रतिर बहाउन सके यौन उर्जा ध्यानमा बदलिन्छ र हामी शरीरभन्दा बाहिरको अवस्थामा पुग्न सक्दछौं भनिन्छ । 

इतिहासमा यस्तो अभ्यास गर्नेमध्येका एक हुन् हिन्दू धर्मका प्रणेता आदि गुरु शंकराचार्य । उनमा यस्तो विलक्षण प्रतिभा थियो रे जसलाई प्रकाया प्रवेश भनिन्छ । यस विद्यामा मानिस अरुकै शरीरमा प्रवेश गरेर आफ्नो काम पूरा गरी एक निश्चित समयमा आफ्नै शरीरमा फिर्ता आउँछ भनिन्छ । 

 सुन्दा हाँसो लाग्ने जस्तै कुरो हो । तर सिद्धी प्राप्त गरेका अध्यात्मिक गुरुहरु यसमाथि विश्वास गर्दछन् । यस्तो गुण बुद्धमा पनि थियो भनिन्छ । तर बुद्धले यसलाई अभ्यासमा ल्याएनन् । यसबारे चर्चा पनि गरेनन् । उनलाई चेला बिग्रेलान् भन्ने त्रास थियो । त्यसैले भरसक मासु नखानू भन्ने आदेश थियो । भरसक दिनमा एकछाक मात्र खानू भन्ने आदेश थियो । 

यदि दुई छाक खाए शरीर बलियो हुन्छ । यौन उर्जा बढ्छ र भन्तेहरु अधम बाटोमा लाग्छन् भन्ने त्रास थियो, बुद्धलाई । यो अभ्यास अझै पनि विपश्यना ध्यानमा गरिन्छ । त्यहाँ साँझमा खान दिइँदैन र स्त्रीसँग बोल्न पनि दिइँदैन । 

ओशोले आफूलाई यौन गुरु भन्नेहरुलाई गज्जबको जवाफ दिएका छन् । ‘मैले यौन भन्दा बढी ध्यान, ईश्वर, प्रार्थना, उर्जा आदिबारे बोलेँ तर मानिसहरु यौनप्रति धेरै नै ‘अब्सेस्ड’ भएकाले उनीहरुले अरु कुरामा चाख राखेनन्, जति यौनमा राखे’, ओशो भन्छन् । 

हुन पनि हो चाहे आमाबाबु मरेर काज किरियामा बसेका बेला होस् वा अफिसमा कुनै गम्भीर विषयमा चर्चा गरेका बेला होस्, यदि छेउँबाट सुन्दर स्त्री यताउति गरे हरेक पुरुषका आँखा पछि लाग्छन् । मानिसमा मात्र होइन, परेवा घुरेको हामीले देखेकै छौं । कुकुरको यौन नदेखेका त हामी कमै होलाऔं । फरक यत्ति मात्र छ, उनीहरु एक सिजनमा यौनको पछि लाग्छन्, हामी बारैकाल, चौबीसै घन्टा । 

भन्दाभन्दा ओशोले त यतिसम्म पनि भनेका छन् कि कोही मानिस यौनलाई ध्यानमा परिणत गर्न सक्ने सामथ्र्य राख्दछ भने उसबाट जन्मने बच्चा जिसस, कृष्ण, अर्जुन वा कर्णजस्तो विषेश गुण भएको हुन्छ । तर यस्तो कुरामा हामीलाई खास चासो छैन कारण हामीमा त्यस्तो विलक्षण प्रतिभा पनि छैन । 

संयुक्त राज्य अमेरिकामा एकल यौन साथीबीच मात्र यौन सम्पर्क गर्ने २८ वर्ष समूहका ६ हजार पुरुष र महिलाबीच गरिएको लामो अध्ययनमा महिला थप ३१ वर्ष र पुरुष थप ३५ वर्ष यौनका लागि उत्तिकै सक्रिय रहेको पाइएको थियो । 

यी ३५ वर्षमा धेरैले यस विषयमा विद्यावारिधि गरेका थिए । तीमध्येकी एक हुन् सुसान क्राउज । उनले गरेको अध्ययन अलि फरक किसिमको थियो । उनले एकभन्दा बढी यौन साथी बनाउने महिला र पुरुषबीच हुने सक्रियतामाथि अध्ययन गरिन् । उमेर समूह उही २८ वर्ष नै राखेर । यस्तो अध्ययन गर्न निकै नै समय र पैसा खर्च हुन्छ । 

सुसानले विभिन्न दाताबाट रकम प्राप्त गरिन् । उनको अध्ययनको निष्कर्ष भने अलि फरक रह्यो । उनको अध्ययनमा सहभागीमध्ये महिला थप ३७ वर्ष र पुरुष थप ३६ वर्ष यौनमा उत्तिकै सक्रिय रहे । अथवा भनौं महिला ६५ र पुरुष ६४ वर्ष मात्र । 

यसले उनको अध्ययनको निष्कर्षमा मानिसलाई यौनका लागि उमेरले छेक्दैन भन्ने रह्यो भने मिलेसम्म बहुयौन मित्र आवश्यक भन्ने पनि । 

यता हाम्रोतिर पुरुष त बुढै हुँदा पनि सन्तान उत्पादनका लागि योग्य नै ठहरिन्छन् तर आमाहरु भने ५० काटेपछि विरलै सन्तान जन्माउँछन् । सुसानकै अध्ययनलाई आधार मानेर विश्लेषण गर्ने हो भने नेपाली आमाहरुलाई बहुयौन साथीको सुविधा नभएकाले यस्तो भएको हो भन्न सकिने भो । 

जे होस् तपोवनमा ध्यान गर्न जाँदा माथि आलोचना गरिएका महानुभावहरुले यौनजन्य सुविधा पाए नपाएको त उनीहरुलाई नै थाहा होला तर आलोचकलाई भने ईर्स्याले सताएको होला । त्यसो त तपोवनमा यो स्तम्भकार पनि करिब दशकै बिताएको मान्छे । अरुले त यौनकै लागि गएको सम्झिन्थे होला तर आफूलाई भने कहिल्यै त्यस्तो शुभअवसर प्राप्त भएन । 

त्यहाँ जानेहरुको ईर्स्या गर्नेहरुले घरमा श्रीमतीमाथि रीस पोखेर इच्छा पूरा गरे होलान् अथवा अफिसमा सहायक कर्मचारीमाथि खनिएर वा घरमा अबोध छोराछोरीमाथि खनिएर । आखिर ईर्स्या पनि त उर्जा नै हो । यो कि त बहन्छ, कि त रुपान्तरणको बाटो खोज्छ । त्यसैले मिलेसम्म घर परिवारमा यौनबारे छलफल गर्ने वातावरण बनाउने प्रयास गरौं । 



नयाँ