arrow

नेपाल-चीनबीच के के भए सहमति ?

केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चीनले अनुदान दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
nepal-china=meet.jpg

काठमाडौं । चीनले केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग दिने भएको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग चिनियाँ समकक्षी वाङ यीले उक्त प्रतिबद्धता जनाएका हुन् ।

योसँगै चीनको अनुदान सहयोगमा केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन हुने भएको छ । यस अघि चीनकै सहयोगमा उक्त रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन भएको थियो ।  सन् २०१९ अक्टोबरमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणमा  रेलमार्गलाई अघि बढाउने सहमति भएको थियो ।

परराष्ट्रमन्त्री डा.  खड्काको भ्रमणका क्रममा नेपाल चीनबीच एक दर्जनभन्दा बढी विषयमा सहमति भएका हुन् । खड्कासँगको द्विपक्षीय वार्ताको क्रममा वाङ यीले १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने बताएका छन् । 

नेपाल चीनबीच नाकाहरूलाई सञ्चालन गर्न संयुक्त संयन्त्र बनाउने सहमति भएको छ । चीनले नेपाललाई रासायनिक मल उपलब्ध गराउने र नेपालमा रसायनिक मलको उद्योग खोल्नको लागि सम्भाव्य अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । विद्यार्थीलाई स्वास्थ्य प्रोटोकल अनुसार भिसा दिने भएको छ । 

चीनले सन् २०२२ को लागि १५ अर्ब १३ करोडभन्दा बढी रुपैंया सहयोग गर्ने उल्लेख छ । साढे ५ करोडभन्दा बढी रुपैयाँ नेपालको विपद् व्यवस्थापनको लागि सहयोग गर्नेछ। ३ करोड ७८ लाख रुपैयाँभन्दा बढी नेपालको मेडिकल सामग्री र साधनहरूको लागि सहयोग दिनेछ ।

साथै एक चीन नीतिमा आफ्नो धारणालाई फेरि सार्वजनिक गरेकोमा चिनियाँ पक्षले नेपालको प्रशंसा गरेको छ  । खड्काले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा द्विपक्षीय बैठक सम्पन्न गरेका हुन् । 

तीन दिने चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. खड्का मङ्गलवार राति चीन प्रस्थान गरेका थिए । मन्त्री खड्काको साथमा ११ सदस्यीय प्रतिनिधि टोली छ । खड्काको टोलीमा परराष्ट्र सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव , उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, गृह र अर्थ मन्त्रालयका सहसचिवलगायतका अधिकारी सहभागी छन् । 



नयाँ