arrow

बेपत्ता कांग्रेस दोलखा प्रदेश ख का सभापति भैरहवामा भेटिए, परिवारसँग घर जाँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
chitraprasadd.jpg

काठमाडौं । गत साउन २२ गतेदेखि सम्पर्कविहीन नेपाली कांग्रेस दोलखा प्रदेश (ख) का सभापति चित्रप्रसाद दाहाल सम्पर्कमा आएका छन् । उनलाई नेपाल प्रहरीले भैरहवामा भेटेको हो । उनलाई प्रहरीले भेटेपछि परिवारलाई सम्पर्क गरी यति एयरलाइन्समार्फत काठमाडौंमा पठाएको थियो । 

उनका भाइ गणेशप्रसाद दाहाललाई दाइ चित्रप्रसादलाई एयरपोर्टबाट साथमा लिएका छन् । गणेशले हाम्राकुरासँग कुरा गर्दै भने, ‘यति एयरलाइन्सबाट उहाँ आउनु भयो । मैले रिसिभ गरिसकेँ । उहाँ तनावमा देखिनु हुन्छ । अब घरमा लिएर गएपछि राम्रोसँग कुराकानी गरेर के भएको रहेछ पत्ता लगाएर फेरि कुरा गरौंला ।’

के भएको थियो यसअघि ? 
गत २२ गते भक्तपुरको बालकोटबाट दोलखाको चरिकोट जानका लागि गाडी चढेका सभापति दाहाल त्यसपछि एकाएक बेपत्ता भएका थिए । बालकोटबाट बा २० ख ९८२२ नम्बरको सार्वजनिक बसमा आफूले नै दाइलाई चढाएको उनका भाइ गणेशले बताएका थिए । 

तर, बालकोटबाट जडीबुटीमा झरेर चरिकोटको गाडी समात्नु पर्नेमा सभापति दाहाल कलंकीमा पुगेपछि मात्रै उत्रिएको सो गाडीका सहचालकले बताएको उनका भाइले जानकारी दिएका थिए । 

‘बालकोटबाट चरिकोट जान्छु भनेर हिँड्नु भएको गाडीमा मैले आफैले चढाइ दिएको हो’, भाइले भनेका थिए । सो गाडीका सहचालकले हराएका भनिएका दाहाल जडिबुटीमा नझरिकन कलंकीमा झरेको बताएको उनका भाइले बताका थिए । 

साउन २२ गते बिहान ६ बजेर ३९ मिनेटमा सभापति दाहालकै भाइले उनलाई बालकोटको महेन्द्र शान्ति स्कुल नजिकबाट गाडी चढाएका थिए । सभापति दाहालले त्यसपछि साउन २२ गते नै बिहान ६ बजेर ५२ मिनेटमा आफ्नो मोबाइलको चार्ज सकिएर अफ हुन लागेको भन्दै आफूलाई फोन गरेको उनका भाइले बताएका थिए । 

सोही दिन बिहान ६ बजेर ५६ मिनेटमा फोन लगाउँदादेखि सभापति दाहालको मोबाइल अफ रहेको उनका भाइले बताएका थिए । आफ्ना दाइको अपहरण भएको हुनसक्ने शंका भाइ गणेशले गरेका थिए । 

यस विषयमा महानगरीय प्रहरी वृत ठिमी भक्तपुरमा उजुरी दिइसकेको र प्रहरीले खोज तथा अनुसन्धान भइरहेको जानकारी दिएको सभापति दाहालका भाइले बताएका थिए । 

महानगरीय प्रहरी वृत ठिमीका प्रहरी निरीक्षक मनोज श्रेष्ठले यो घटना अनुसन्धानका क्रममा रहेको बताएका थिए । सभापति दाहालको मोबाइल फोन ट्रयाक गर्दा जडिबुटीपछि मोबाइल अफजस्तो देखिएको र खोजीका क्रममा उनी कलंकीमा नै झरेको बुझिएको श्रेष्ठले बताएका थिए ।

घटनाको प्रवृति हेर्दा सभापति दाहाल आफै कलंकीतिर गएको देखिएकोले अपहरणको आशंका भन्न नसिकने उनको भनाइ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ