arrow

महामन्त्री विश्वप्रकाश शर्मा झापाबाटै चुनाव लड्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १ बुधबार
bishwa-prakash2.JPG

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू झापाबाटै चुनाव लड्ने बताएका छन् । सामाजिक संजाल ट्वीटरमा बुधबार बिहान ट्वीट गर्दै शर्माले आफू झापाबाटै चुनाव लड्ने स्पष्ट पारेका हुन् । 

केही दिनदेखि उनले झापालाई छाडेर काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने भन्ने चर्चा सामाजिक संजालहरुमा भएसँगै आफूले झापाबाटै चुनाव लड्ने स्पष्ट पारेका हुन् । 

उनले लेखेका छन्, ‘फेरिप्रट्याउँ – बागमतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो ! काठमाडौं ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’

उनले लेखेको गठबन्धनका अर्का मित्रलाई समान्नका साथ साथमा लिएर भन्ने भनाइले सबैभन्दा ठूलो अर्थ बोकेको छ । 

उनले निर्वाचनमा लड्ने भनेको झापाको क्षेत्र नम्बर १ हो । २०७४ सालको निर्वाचनमा उनी त्यही क्षेत्रबाट चुनाव लडेका थिए । त्यो बेला नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले चुनाव जितेका थिए । अहिले पनि उनको आकांक्षा हुन सक्छ । 

तर महामन्त्री शर्माले पनि आफू यही क्षेत्रबाट लड्ने भन्दै स्पष्ट परिसकेका छन् । अल्झन भनेको सत्ताधारी पाँच दलीय गठबन्धनले २०७४ सालमा आफूले जितेका स्थानमा सोही दललाई नै टिकट दिने सहमति भइसकेको छ । यो अर्थमा शर्माले चाहेको क्षेत्रमा माओवादीले टिकट पाउने छ । 

यसकै लागि नेता शर्माले माथिको प्रसङ्ग जोड्दै ‘उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर’ भन्ने वाक्यांश जोडेका हुन् । 

यसबाट माओवादीलाई कुनै पनि अन्य स्थानमा सम्मानपूर्वक उम्मेदवारीका लागि सिट दिने भन्ने सहमतिसमेत हो भनेर बुझ्न सकिन्छ । 

अर्कातर्फ पार्टीको महामन्त्री भएका नाताले उनले चाहेका खण्डमा उम्मेदवार बन्न सक्छन् । पार्टीका उच्च तहका नेताहरुलाई यो किसिमको प्रबन्ध गर्ने भन्ने एकखालको सहमति पनि भइरहेको छ । 

त्यसलाई आधार मान्ने हो भने गीतकारसमेत रहेका नेता शर्माले साहित्यिक पारामै काठमाडौंबाट नउठेर झापाबाटै उम्मेदवारी दिनेतर्फ स्पष्ट पार्दै भनेका छन्, ‘प्रेम उता घरजम यता कुरै हुन्न ।’

सौम्य स्वभावका विश्वप्रकाशले आफूले झापाबाटै चुनाव लड्ने उद्घोष गरेसँगै पार्टी र गठबन्धनमा यसबारे पक्कै बहस हुने नै छ । उनले आफ्नो गृहजिल्लालाई प्रतिनिधि सभाका लागि सेवाको कर्मजिल्लासमेत बनाउने आशा गरेका छन् । 



नयाँ