arrow

क्षमता बढी यात्रु बोकेको जीप दुर्घटनामा पाँचको मृत्यु, घाइते नौमध्ये तीन गम्भीर, मृतक सबै एकै वडाका 

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ भदौ १ बुधबार
darchula-jeep-accident.jpg

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा बझाङ जिल्लाका पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको बुंगल नगरपालिका–८ जसपालाका अन्दाजी ६० वर्षीय हिक्मत जागरी, सोही ठाउँका ६१ वर्षीय पुने बोहरा, ६६ वर्षीय उज्जल बोहरा, बाटुलीटोलका राइभान बोहरा र चम्फादेवी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

बुधबार दिउँसो गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा आउँदै गरेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको हो । दुर्घटनामा परी नौ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ की ५० वर्षीया गोमतीदेवी धामी, सोही ठाउँका २१ वर्षीय सुमन सिंह धामी, ३० वर्षीया गोमती धामी, मालिकार्जुन वडा नम्बर ६ की ४० वर्षीया रेवती धामी, मालिकार्जुनका–३ मडकी ४२ वर्षीया रुपा धामी, महाकाली नगरपालिका–३ काँटैका ३५ वर्षीय रमेश लुहार, बैतडीको डिलाशैनी गाउँपालिका–३ का प्रदीप राना, बझाङ जिल्ला बुङ्गल नगरपालिका–८ का धनबहादुर जाँगरी र महाकाली नगरपालिका–७ का दिलाराम कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत थापाले जानकारी दिए ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । 

जीप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । क्षमता भन्दा बढी यात्रु बोकेका कारण जीप दुर्घटना भएको अनुमान गरिएको छ । 

उक्त जीपमा १४ जना सवार थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ