- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमालेसंग एक्लै भिड्ने हिम्मत कुनै पनि दलसंग नभएको बताएका छन् । उनले एमालेसंग एक्लै लड्ने हिम्मत नभएकाले नै एमाले विरुद्ध मुलुकका सबैजसो दलहरु एक ठाउँमा उभिन बाध्य भएको बताए ।
पोखरामा शनिबार आयोजित नेकपा (एमाले) धादिङ-पोखरा सम्पर्क मञ्चको ११ औं साधारणसभा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले गठबन्धन सत्ताभोगका लागि मात्र भएकाले धेरै समय नटिक्ने दावीसमेत गरे । पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डेले भने, ‘यो गठबन्धन विचार मिल्नेहरुको गठबन्धन होइन । भागवण्डामा गरिएको गठबन्धन कहिलेसम्म जान्छ हेरौं ।’ ‘भाग तलमाथि हुनासाथ गठबन्धन भत्किन्छ । एक्लाएक्लै एमालेसँग भिड्ने ताकत कसैको छैन’, उनले ठोकुवा गरे ।
नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले सम्पर्क मञ्चले पार्टी जोड्ने पुलको काम गरेको भन्दै कास्की पार्टी निर्माणमा पनि पोखरा बस्ने धादिङबासीको अतुलनीय योगदान रहेको उल्लेख गरे ।
पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले देशभरका एमालेजन यस्तै सक्रियतापूर्वक पार्टीमा लागिपरे गठबन्धनलाई परास्त गर्न सक्ने बताए ।
मञ्चका पूर्व अध्यक्षसमेत रहेका जिल्ला कमिटी धादिङका सदस्य बेनी पाठक, जिल्ला कमिटी धादिङ सदस्य चन्द्रकुमारी अधिकारी, धादिङको गल्छी गाउँपालिका अध्यक्ष केदार खतिवडा, मञ्चका संस्थापक अध्यक्ष कृष्ण लम्साल, निवर्तमान अध्यक्ष वीरबहादुर थापालगायतले बोलेका थिए ।
मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीको अध्यक्षतामा भएको साधारणसभामा सचिव सरोज कुँवरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष योगप्रसाद सापकोटा (नवराज) ले स्वागत गरेका थिए ।