- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सत्तारुढ दलहरुले एमालेविरुद्ध गठबन्धन गर्ने भनिरहेका बेला एमाले भने निर्वाचन केन्द्रीत हुन थालेको छ । एमाले केन्द्रीय कमिटीको बैठकबाटै कार्ययोजना बनाउदै गाउँ जाने अभियानमा लागेको छ ।
अहिलेको अवस्थामा एमालेलाई थोरै मतको आवश्यक रहेको जनाउँदै सो मत बढाउन आवश्यक रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको मत बढाउन एमाले अध्यक्ष ओलीले ६ योजना अघि सारेका छन् । आफ्नो शक्तिमाथिको विश्वास बढाएर गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुने, नयाँ पुस्तालाई ध्यान दिने, एमाले सरकारले गरेका कामको प्रचार गर्नेलगायत अध्यक्ष ओलीले योजनाहरु अघि सारेका छन् ।
‘मतदाता नामावली अद्यावधिक गर्ने र दोहोरिएका नामहरू हटाउन निर्वाचन आयोगको ध्यानाकर्षण र पहल गर्ने, आमजनसमुदायमा पार्टीका नीति र एजेन्डाको व्यापक प्रचार गर्ने, एमाले सरकारले गरेका कामको सशक्त प्रचार गर्ने, आफ्नो शक्ति र सामर्थ्यमाथिको आत्मविश्वास बढाउने, गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुने, हामीलाई बहुमतका लागि आवश्यक पर्ने करिब १६ प्रतिशत मत अपुग छ । त्यसलाई वृद्धि गर्न सकिन्छ र यसका लागि ठोस योजनाका साथ अगाडि बढ्ने, नयाँ पुस्तामा विशेष ध्यान दिने’ उल्लेख गरिएको छ ।
तर बैठकपछि एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले वाम गठबन्धनको संभावना भने कायमै रहेको बताए । उनले बैठकमा यसबारे छलफल हुने जानकारी दिए । ‘वाम मगठन्धन हुने संभावना सकिएको छैन, छलफल हुन्छ बहस हुन्छ अहिले नै संभावना सकिएको भने छैन’, प्रचार विभाग प्रमुख गुरुङले भने ।
छिमेकी राष्ट्र चीनले पनि वाम गठबन्धनमा जोड दिँदै आएको छ । यसअघि २०७४ सालको निर्वाचनमा एमाले–माओवादी केन्द्रको चुनावी एकता पनि चीनले नै गराइदिएको थियो । चीनकै जोडबलमा २०७५ सालमा एमाले र माओवादीबीच पार्टी एकता भइ नेकपा बनेको थियो । तर आपसरी असमझदारी बढ्दै गएपछि टुक्रिएका थिए ।
एमाले र माओवादी मात्र टुक्रिएनन् कि एमालेबाट नेकपा एस पनि टुक्रियो । तर अहिले फेरि एमाले–माओवादी–नेकपा एसलाई मिल्ने दवाव चीनले दिइरहेको छ । स्थानीय तहको निर्वाचनअघि पनि चिनियाँ टोली आएको थियो ।
त्यतिबेला एकता सम्भव भएन । अहिले फेरि प्रतिनिधि सभामा पार्टी नै एकताका लागि पहल भइरहेको बुझिन्छ । सके पार्टी एकता र नसके चुनावी एकताको चाँजोपाँजो भइरहेको एमालेका एक पदाधिकारीले बताए ।
यसका लागि दबाब फेरि चीनकै छ । चिनियाँ विदेशमन्त्री नेपाल आएको चार महिना नबित्दै चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ग अर्को महिना नेपाल आउने स्रोतको दाबी छ । नेपालमा चिनियाँ नेताहरुको सक्रियता बढिरहेका बेला चिनियाँ प्रधानमन्त्री नेपाल आउन लागेको स्रोतको दाबी छ ।
यसैगरी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गरी सुझाव पेस गर्न ९ वटा समूह बनाइएको छ ।
सातवटा प्रदेश र जनसंगठन तथा प्रवासका अलग–अलग समूहमा प्रतिवेदनमाथि छलफल हुने र शनिबारको बैठकले सुझावसहित प्रतिवेदन पारित गर्ने भएको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार सम्बन्धित प्रदेशका अध्यक्षहरूलाई टोली नेता बनाएर छलफल शुरू भएको छ ।
अध्यक्षको प्रतिवेदनले आगामी निर्वाचसम्मको पार्टीको कार्यदिशा समेत तय गर्ने उपप्रमुख रिजालले जानकारी दिए । अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै अमृत बोहरा, अनुशासन आयोगको प्रतिवेदन, लेखा आयोग, सल्लाहकार परिषद्को प्रतिवदेनमाथि पनि छलफल हुनेछ ।