arrow

२२७ को दाबी मिलाउन बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
5-parti-meet.jpg

काठमाडौं । आगामी निर्वाचनमा सत्ता गठबन्धन दलबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ । बैठकमा कार्यदलसहित शीर्ष दलका नेताहरू उपस्थित रहनेछन् । 

साउनको तेस्रो सातायता कार्यदलको बैठकमा आगामी मङ्सिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल भइरहेको छ । तर सिट बाँडफाँटमा सहमति जुटेको छैन । 

बिहीबारको बैठकमा कांग्रेसले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिटमा दाबी प्रस्तुत गरेको थियो । यस्तै माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले २५, र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । जम्मा १६५ सिटमा दलको दाबी २२७ पुगेपछि सिट बाँडफाँटमा सकस भएको छ ।

यस्तै ३३० प्रदेशसभा निर्वाचन क्षेत्रको भागबण्डाबारे पनि कार्यदल बैठकमा गत शुक्रवारबाट सुरु भएको छ । ०७४ को आम निर्वाचनमा दलहरूले पाएको समानुपातिक मत र ०७९ को स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार बनेर कार्यदलले प्रतिवेदन तयार गर्न लागेको छ ।

गठबन्धनले पाँच दलका ११ नेता सम्मिलित कार्यदललाई प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै क्षेत्रमा गठबन्धनका कुन दलको कस्तो अवस्था छ भनेर तथ्याङ्क सहितको विश्लेषण गर्ने जिम्मेवारी दिएको छ ।



नयाँ