arrow

माधव नेपालको क्षेत्रमा कांग्रेसबाट अनुराधा पुत्रको दाबी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
manish-makuney.jpg

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्रमा नेपाली कांग्रेसबाट मनिष कोइरालाले दाबी गरेका छन् । 

राजधानीको काँठ क्षेत्र र दुई महानगरका वडाहरू मिलेर बनेको काठमाडौं क्षेत्र नम्बर २ मा समाजसेवी अनुराधा कोइरालाका पुत्र मनिष कोइरालाले आफ्नो दाबी गरेका हुन् ।

सत्तारुढ गठबन्धनले समाजवादीका अध्यक्ष नेपाललाई सो क्षेत्रबाट सर्वसम्मत उम्मेदवार बनाउने पक्का छ । 

कांग्रेसका तर्फबाट आफ्नो उम्मेदवारीको दावी गरेका क्षेत्रीय नेता मनिष कोइरालाले जस्तो सुकै परिस्थिति आए पनि यसपालि आफ्नो उम्मेदवारी कायम हुने बताए। 

माधव नेपालले सो क्षेत्रमा काम गर्न नसकेको गुनासो आम सर्वसाधारणदेखि लिएर जनता कार्यकर्ताले गरेपछि उम्मेदवारी पेस गरेको नेता कोइरालाले हाम्रा कुरासँग भने । 

तर गठबन्धनको तालमेलले कोइरालालाई उम्मेदवार बन्न त्यति सजिलो भने छैन । माधव नेपालको नामलाई एकीकृत समाजवादीको जिल्ला कमिटीले सिफारिस गरेको छ ।

कोइराला भने नेपाललाई समेत यो क्षत्रबाट जित्न सहज नहुने बताउँछन् । कोइरालाले भने,' माधव कुमार नेपालको पनि यही क्षेत्रबाट लड्छु भन्ने कन्फिडेन्स छैन । वहाँ काठमाडौं बाहिरबाट चुनाव लड्ने सम्भावना धेरै देखिएको छ । वहाँलाई जनताले रुचाउन पनि पर्‍यो । वहाँले उठाएको स्थानीय उम्मेदवार यस क्षेत्रबाट हारेका छन् । वहाँका जनतालाई केही नगरेपछि वहाँलाई पनि डर छ । महाभूकम्प पछि यस क्षेत्रमा वहाँको उरालो लाग्ने क्रम जारी छ । ' 

सोही क्षेत्रका लागि प्रदेश कमिटीले कोइरालाको नाम राखेर पठाएको छ । कोइरालाले भने,' क्षेत्रीय कमिटीमा चार पाँच जनाको नाम जान्छ होला हाम्रो बैठक टुङ्गिएको छैन अहिलेसम्म । सिफारिस क्षेत्रले र प्रदेशले गर्ने हो । प्रदेशमा मेरो मात्र नाम गएको छ । अव क्षेत्रले दुई जनाको नाम पठाउँछ होला । पार्टीको टिकट दिने केन्द्रले हो ।' 

पहिला यो क्षेत्र १ नम्बर पार्थ्यो । सो समय काठमाडौंमा ८ वडा क्षेत्र थियो । पछि १० बटा क्षेत्र बनाउँदा २ नम्बर बनेको हो । यही क्षेत्रबाट सन्त नेता कृष्ण प्रसाद भट्टराई चुनाव लडेका थिए । जसमा एक पटक जिते एक पटक हारे । राष्ट्रपति विद्यादेवी भण्डारी पनि यही क्षेत्रबाट चुनाव जितेकी थिइन् । 

नेपाली कांग्रेसबाट भने अघिल्लो सङ्घीय निर्वाचनमा दीपक कुइँकेल यस क्षेत्रबाट उम्मेदवार बनेका थिए । कुइँकेलले तीन पटक टिकट पाइसकेका छन् । उनले एक पटक जिते भने दुई पटक हारे । 

 'कांग्रेसबाट हेभि वेट नेता नभएको क्षेत्र हो यो । माधव नेपाललाई खाली छोडिरहेको क्षेत्र भयो यो ।' कोइरालाले भने । यद्यपि माधव नेपालले आफू काठमाडौं २ बाट नभइ आफ्नै जन्मस्थल रौतहटबाट चुनाव लड्ने संकेतसमेत गरेका छन् । तर उनले अझै खुलेर ढुक्कसँग भन्न सकेका छैनन् ।

कोइराला यो भन्दा अगाडिको १३ औँ अधिवेशनमा क्षेत्रीय सभापतिमा उपेन्द्र कार्कीसँग १३ मतले पराजित भएका थिए। त्रिचन्द्र कलेजबाट नेविसंघको राजनीति गरेका कोइराला तरुण दलको केन्द्रीय सदस्य पनि थिए । तरुण दलको विदेश विभाग प्रमुख थिए । उनी अहिले महाधिवेशन प्रतिनिधि हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ