arrow

पुलिसलाई राष्ट्रिय महिला भलिबल उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
Nepal police.jpg

पोखरा । नेपाल पुलिस क्लबको महिला टोलीले  पोखरामा सञ्चालन भएको राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा-१६ लामाचौरमा सम्पन्न २४औं संस्करणको ‘लामाचौर तीज महोत्सव-२०७९ एवं लामाचौर कप राष्ट्रिय भलिबल’ प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलमा पुलिसले न्यू डायमण्ड एकेडेमीलाई ३-० सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

डिफेन्डिङ च्याम्पियन पुलिसले उपाधिसहित रु एक लाख ५० हजार १११ पुरस्कार प्राप्त गर्यो । उपविजेता न्यू डायमण्डले रु एक लाख १११ पुरस्कार पाएको छ । फाइनलमा पुलिसले न्यू डायमण्डलाई २५-१५, २५-१४ र २५-८ अङ्कले हराएको हो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तृतीय भयो । उसले गण्डकी प्रदेशलाई २५-१७, २५-१७ र २५-१५ अङ्कले पराजित गर्दै रु ५० हजार १११ पुरस्कार हात पार्यो । 

प्रतियोगितामा पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी र पुलिसकै रुपेश विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । दुवै जनाले जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

यसैगरी उत्कृष्ट सेटर न्यू डायमण्डकी प्रगति नाथ, उत्कृष्ट ब्लकर आर्मीकी सोफिया पुन, उत्कृष्ट सर्भर डायमण्डकी सलिना बुढामगर, उत्कृष्ट स्पाइकर पुलिसकी कामना विष्ट र उत्कृष्ट लिब्रो डायमण्डकी सलिना श्रेष्ठ घोषित भइन् । 

विजयी टोली तथा उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी रामदत्त जोशी, नेपाल भलिबल सङ्घका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ, आयोजक नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए । 

प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच फाइनल खेल हुन बाँकी रहेको प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।



नयाँ