- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । शैक्षिक अनुसन्धान र नवीनतालाई सुव्यवस्थित गर्न पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले तीन दिने कार्यशाला शुरु गरेको छ ।
प्राज्ञिक अनुसन्धान र नवप्रवर्तन सम्बन्धी कार्यशाला सम्बन्धी विश्वविद्यालयका आङ्गिक, संयुक्त आङ्गिक र सम्बन्धन प्राप्त ६६ वटा महाविद्यालयका रिसर्च म्यानेजमेन्ट सेल (आरएमसी) मा आवद्ध प्राध्यापकका लागि लक्षित रहेको जानकारी विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले दिए ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले विश्वविद्यालय अनुसन्धान गर्ने थलो भएकाले गुणस्तरीय शिक्षाका लागि पठनपाठन र अनुसन्धान सँगसँगै लैजानुपर्नेमा जोड दिए ।
अनुसन्धानलाई व्यवस्थित गर्न विश्वविद्यालयले आफ्ना महाविद्यालयमा अनुसन्धानात्मक सेल गठन गर्नुका साथै युएनडिपीलगायतका संस्थासँग साझेदारी गर्दै शिक्षक तथा विद्यार्थीलाई अनुसन्धान गतिविधिममाा लाग्न उत्प्रेरित गर्दै आएको छ ।
सोमबारदेखि सुरु भएको उक्त कार्यक्रममा पोलिसी रिसर्च इन्स्टिच्युट नेपालका कार्यकारी अध्यक्ष डा विष्णुराज उप्रेतीले दिगो विकासका लक्ष्य हासिल गर्न र देशलाई समृद्धितर्फ डोर्याउन राज्यले अनुसन्धानलाई प्रवर्द्धन गर्नुपर्ने बताए ।
युएनडिपी नेपालका आवासीय प्रतिनिधि आयशानी मेडागांगोडालाबेले दिगो विकासका लक्ष्य हासिल गर्न युएनडिपीले शिक्षालगायत नेपालका विभिन्न क्षेत्रमा लगानी अभिवृद्धि गर्दै आएको बताए ।
पोखरा विश्वविद्यालयसँग शिक्षा, स्वास्थ्य पर्यटन, मौसम परिवर्तनका साथै सिमान्तकृत वर्गको उत्थानका लागि अझै हातेमालो गर्दै अगाडि बढ्न युएनडिपी इच्छुक रहेको उनले बताए । सो कार्यशालामा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरी छलफल गरिने बताइएको छ ।