- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँड गर्न बनेका सत्ता गठबन्धनको कार्यदलले आज प्रतिवेदन बुझाउने भएको छ । आज बस्ने पाँच दलीय सत्ता गठबन्धन बैठकमा कार्यदलले शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने भएको हो ।
बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन बुझाउने बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले निर्णय गरेको छ ।
बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन बिहीबार बिहान बैठक बसी शीर्ष नेतृत्वलाई बुझाउने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए । सिट बाँडफाँटका सम्बन्धमा कार्यदल सहमति नजिक पुगेको उनले बताए ।
दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको छ । कार्यदलको बैठक बिहीबार बिहान ९ बजे बालुवाटारमा बस्दै छ ।
गठबन्धनमा आबद्ध दलहरूले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।
यसै गरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रदेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।