arrow

चन्द बने भलिबल संघको नयाँ अध्यक्ष, यस्तो छ कार्यसमिति 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २३ बिहिबार
jitendra-chand-volleyball-president.jpg

काठमाडौं । जितेन्द्रबहादुर चन्द नेपाल भलिबल संघको अध्यक्षमा निर्वाचित भएका छन् । बुधबार भएको चुनावी साधारण सभामा निरोज मास्केलाई २६ मतले पराजित गर्दै चन्द अध्यक्षमा निर्वाचित भएका हुन् ।

संघको चार वर्षे नयाँ नेतृत्वका लागि उपाध्यक्ष मास्के र महासचिव चन्द चुनावी प्रतिस्पर्धामा थिए । जसमा चन्दले ७६ मत ल्याए भने मास्केले ५० मत मात्रै प्राप्त गरिन् । 

महासचिव पदमा चन्दकै प्यानलका रोशन श्रेष्ठ निर्वाचित भए । उनले मनवीर छन्त्याललाई भारी अन्तरले हराए । श्रेष्ठले ८५ र मनवीरले ३९ मत प्राप्त गरे ।

कोषाध्यक्षमा मेत चन्द प्यानलकै श्याम श्रेष्ठ निर्वाचित भए । उनले रिता कोइरालालाई पराजित गरे । श्यामले ७८ मत प्राप्त गरे भने रिताले ४६ मत प्राप्त गरिन् ।

संघको बागमती प्रदेशबाट उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा गौतम लासिभा निर्वाचित भए । लासिभाले ६४ मत प्राप्त गरे । ज्याती केसीले ५९ मत प्राप्त गरिन् । 

सचिवमा प्रदेश १ बाट विनोद श्रेष्ठ ६४ मत ल्याएर निर्वाचित भए । विश्वराज धिमालले ४४ मत प्राप्त गरे । लुम्बिनी प्रदेशबाट निर्वाचित झकबहादुर मिदेनले ७३ तथा पराजित दिपक जीएमले ३७ मत प्राप्त गरे । 

मतदान अघिनै ६ उपाध्यक्ष र ५ सचिव निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षहरुमा गण्डकीबाट याम गुरुङ, मधेसबाट उपेन्द्र यादव, सुदूरपश्चिमबाट हर्क सिंह धामी, कर्णालीबाट भरतबहादुर शाह, प्रदेश एकबाट मदन खड्का र लुम्बिनी प्रदेशबाट भिम ओली निर्वाचित भएका थिए । 

त्यस्तै सचिवमा कर्णालीबाट सोमबहादुर श्रेष्ठ, मधेसबाट महम्मद फिरोज, गण्डकीबाट श्रीधर शर्मा, सुदूरपश्चिमबाट गणेशसिंह ठगुन्ना र बागमतीबाट सुनकेशरी माली निर्विरोध निर्वाचित भएका थिए । 

संघको नयाँ नेतृत्व सहित ७ उपाध्यक्ष, महासचिव, ७ सचिव, कोषाध्यक्ष र ११ कार्यसमिति सदस्यका लागि निर्वाचन भएको थियो । संघमा दुई उपाध्यक्ष र १० जना सदस्य मनोनयनबाट आउने छन् ।



नयाँ