arrow

सवारी दुर्घटनामा कुँवरको मृत्यु, स्थानीयद्वारा सवारीमा आगजनीसहित राजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
Accident-sign.jpg

नुवाकोट । नुवाकोटमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बेलकोटगढी वडा नं. ७ का ५५ वर्षीय वीरेन्द्र कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार ४८ वर्षीय राजेन्द्र राई गम्भीर घाइते भएका भएका छन् । राईलाई थप उपचारका लागि काठमाडौंको बीएण्डबी अस्पतालमा लगिएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

गएराति महादेवफाँटस्थित बा२०च ९४४२ नंको कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका दुई जनालाई बा३ख १६४ नम्बरको मिनीट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो । 

दुर्घटना लगत्तै ट्रक चालक फरार भएका थिए । उनलाई करिब तीन घण्टापछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

मिनीट्रक चालकको लापरबाहीबाट दुर्घटना भएको जनाउँदै पीडित परिवारसहित स्थानीयवासीले शव उठाउन अस्वीकार गरेका छन् । उनीहरूले घटनास्थलमा बसेर रातिदेखि शुरु गरेको विरोध प्रदर्शन अहिलेसम्म कायम छ ।

ठक्कर दिने मिनीट्रकलाई स्थानीयवासीले बेलकोटगढी-५ केउरिनी भन्ने स्थानबाट नियन्त्रणमा लिएर आगो लगाइदिएका छन् । 

दुर्घटनापछि फरार भएको मिनीट्रकलाई रोक्न बेवास्ता गरेको जनाउँदै स्थानीयवासीले प्रहरी चौकी तारुकाको देवीघाट-गल्छी सडकखण्डमा रहेको प्रहरी युनिटमा समेत क्षति पुर्याउने प्रयास गरेका थिए । घटनापछि गल्छी-रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको देवीघाट-गल्छी सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ