arrow

बालकोटमा कसको भाग्य चम्केला ? सचिवालयले टुंग्याउँदै समानुपातिकको नाम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
uml-sachibalaya-baithak-2079-06-02.jpg

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवलय बैठक बालकोटमा जारी रहेको छ । यो बैठकले आगामी  ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची टुंग्याउँदै छ । 

एमाले प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे जानकारी गराइएको र आज संघीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवार टुंग्याइने बताए । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ । 

एमालेले भोलि समानुपातिकको नाम लिएर आयोग जाने बताइएको छ । एमाले सचिवालयको बैठकबाट नामहरु टुंग्याउन लागेको भए पनि समानुपातिकको नाम छनोटमा महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल हाबी भएका छन् । 

 ‘जिल्ला जिल्लाबाट आएका नामहरुलाई ‘सर्ट लिष्ट’ गरी महासचिव पोखरेल र उपमहासचिव रिमालले टुंग्याउन लागेका हुन्’, स्रोतले भन्यो । समानुपातिक तर्फबाट जिल्लाबाट आएका नामहरुलाई हेरेर अध्यक्ष केपी शर्मा ओली सहितले त्यसलाई टुंग्याउने र त्यसलाई सचिवालय बैठकले अन्तिम रुप दिइ निर्वाचनमा आयोगमा बुझाउने एमाले नेताहरुको दाबीमा शंकर पोखरेल हावी भएपछि कतिपय नेताहरुले भनेका समानुपातिकको नाम काटिन अवस्था आएको स्रोतको भनाइ छ ।

समानुपातिकको सूची पोखरेल र रिमालले लगभग टुंगो लगाइसकेको पोखरेल निकट स्रोतले जनाएको छ । अहिले एमालेभित्र रहेका केही नेताहरु समानुपातिकको सूचीलाई अन्तिम रुप दिन व्यस्त रहेका छन् । उनीहरुले तयार गरेको सूची नै अन्तिम हुने बताइएको छ । 

असोज २ र ३ गते समानुपातिक तर्फका उम्मेद्वारको सूची निर्वाचन आयोगमा बुझाउनु पर्नेछ । एमालले ३ गते निर्वाचन आयोगमा अन्तिम नामावली बुझाउने बताइएको छ । त्यसअघि जिल्ला, प्रदेश र जनसंगठनबाट आएका नामहरुलाई अन्तिम रुप दिने भएको छ ।

समानुपातिक नामावली कार्यालय सचिवमार्फत प्राप्त भएको थियो । त्यसलाई नै टुंग्याउने भएको हो । सचिवालयको बैठकबाट प्रतिनिधि सभाका एक सय १० र प्रदेश सभाका दुई सय २० सहित तीन सय ३० जना उम्मेदवारको बन्दसूची बनाउने गरी तयारी थालेको हो ।

एमालेमा करिब ३ हजार भन्दा बढी नेताहरु समानुपातिकमा सिफारिस भएका छन् । उनीहरुले आफ्नो क्षेत्रबाट नेताहरुसँग लविङ गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरु सुवास नेम्वाङ, विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा अध्यक्ष ओलीका विश्वास पात्रहरुसँग नेताहरुले लविङ गरिरहेका छन् । 

तर अन्य नेताहरुसँग गरिएको लबिङले खास अर्थ नराखेको नेताहरुले बताउन थालेका छन् । साथै प्रत्यक्षतर्फ निर्वाचन भाग लिने नेताहरुले पनि आफ्नो क्षेत्रबाट सिफारिस भएका नेताहरुलाई समानुपातिकमा नाम पठाउन लबिङ गरिरहेका भए पनि शंकर पोखरेलसँग भेटघाट गर्न नपाएकोमा आक्रोशित भएका छन् । 

केही दिनदेखि एमाले नेताहरुको घरमा समानुपातिको टिकट माग्ने नेताहरुको भीडभाड बढेपछि नेताहरुले पार्टी कार्यालयमै भेटघाट गर्ने भन्दै पन्छाउन थालेका छन् । 

समानुपातिकको नाम टुंगिएपछि काठमाडौं रहेका नेताहरुको संख्या आधा भन्दा बढी घट्ने अनुमान गरिएको छ । केन्द्रीय कमिटीले एउटा निर्वाचन क्षेत्रबाट सके सर्वसम्मत नत्र एक महिला सहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन गरे पनि २० जनासम्मको नाम केन्द्रमा पठाएको थियो ।

एमालले समानुपातिक मतलाई सामूहिक कमाइ भनेको छ । यसमा सबै क्षेत्र जातजाती भाषा भाषीलाई समेट्ने जनाएको छ । एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पनि यो साझा कमाई भएकाले सबैको हक लाग्ने गरी पार्टीले उम्मेदवार छनोट गर्ने बताएका छन् । 

एमालेले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशनमा पनि यो विषयलाई समेटेको छ । एमालेले समानुपातिकमा नयाँलाई अवसर दिने गरी मापदण्ड बनाएकाले त्यही अनुसार छनोट हुने प्रचार विभाग प्रमुख गुरुङको भनाइ छ ।
 



नयाँ