- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ । विद्यालय भवन मर्मत अभावमा गाह्रो बाङ्गिएको छ । भवन छाएको जस्तापाता खिया मात्रै लागेको छैन, कुच्चिएको छ । भित्ताको माटो उप्किएर भवन चर्किएको भाग प्रष्ट देखिन्छ ।
यो अवस्था बागलुङ जिल्ला सदरमुकामस्थित बागलुङ नगरपालिका वडा नं. ७ ठाडास्वार छरिखोलास्थित सरस्वती प्राथमिक विद्यालयको हो । विद्यालयको भौतिक संरचनाको दुईकोठे भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ । आफ्नो दुई कोठे जीर्ण भवनबाटै विद्यार्थीलाई पठनपाठन गराउन बाध्य रहेको विद्यालयका प्रधानध्यापक रेशम परियार बताउछन् ।
“दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । भवन अभावमा पठनपाठनमा निकै समस्या भयो । जीर्ण दुई कोठे भवन र तीन कोठे पक्की भवन छ । बालविकास र पाँच कक्षा, प्रशासनिक काम, पुस्तकालय र प्रयोगशाला सबै त्यहीँ पाँच वटा कोठाबाट चलाइएको छ”, परियारले भने, “पक्की भवनको कोठालाई बाँडेर पढाउन बाध्य छौँ, जीर्ण भवन मर्मत गर्ने विद्यालयको आन्तरिक स्रोत छैन ।”
बागलुङ नगरपालिका वडा नं. ७ का वडाध्यक्ष मघराज गैरेले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवनलाई बजेट पर्ला भनेर वडाले तारबारलाई बजेट पारेको बताए । गैरले भने, “विद्यार्थी कम भएको विद्यालयलाई त केही नहोला तर यहाँत दलित समुदायका विद्यार्थीलाई पठनपाठनमा असहज भएको छ ।”
यस वर्ष राष्ट्रपति शैक्षिक सुधारअन्तर्गत कार्यक्रममा भवन समावेश नभए पनि अर्को पटक पहिलो प्राथमिकतामा पारेर भवन माग गर्ने बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए ।