arrow

निर्मला हत्या प्रकरण गिजोलेकोसहित दर्जनौं आरोप र उजुरीसहितको पाप पखाल्न सर्वेन्द्र छिरे एमालेमा, ओलीले चोख्याए 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ७ शुक्रबार
sarvendra-khanal-and-team.jpg
तस्बिर– जनकपुरबाट डा. सुरेन्द्र यादवलाई ल्याउँदा बर्दिवासमा खाना खाँदै गरेको अवस्थामा सर्वेन्द्र खनाल ।

काठमाडौं । प्रहरी महानिरीक्षक हुँदा हुँदा होस् वा अवकाश पाइसकेपछि होस् सधै विवादमा आइरहने पूर्व आइजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला आईजीपी भएका खनाल ओलीकै हातबाट खादा लगाएर पार्टी प्रवेश गरेका हुन् । 

प्रहरी महानिरीक्षक हुँदा सधै विवादमा आइरहने खनाल आफ्नो कार्यकालभर विवादमा रहे । त्यतिमात्र होइन सांसद अपहरणजस्तो गम्भीर आरोप उनीमाथि लागेको थियो । साथै आईजीपी हुँदा प्रहरी प्रधान कार्यालयले गरेका खरिद प्रकरणमा उनको संलग्नताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जनौं उजुरी परेका छन् । 

७२ करोडको लत्ता कपडा खरिद, २२ करोडको मोटरसाइकल खरिद, वाटर क्यानन लगायतका दर्जनौं प्रकारका सामानहरु खरिदमा आर्थिक अनियमितता भएको उजुरीहरु अख्तियारमा विचाराधीन अवस्थामा रहेको छ । 

तत्कालीन समयमा पार्टी फुटाउने खेलमा सरकारलाई सघाउनुको पछाडि सकेसम्म अख्तियारमा नियुक्त हुने खनालको चाहना थियो  । त्यही अख्तियारमा उनीमाथि छानबिन चलिरहेको बेला उनी सांसद अपहरणमा सहभागी भैदिए । 

दुई आर्थिक वर्षमा प्रहरीले गरेका छानबिनमा अनियमितता भएको भन्दै उजुरी परेको थियो । खरिदसम्बन्धी कागजपत्र नियन्त्रणमा लिएर आयोगले छानबिन गरिरहेको थियो  । दुई अर्बभन्दा धेरैका खरिदमा प्रशस्तै कैफियत भेटिएको छ । 

तर दबाबकै भरमा छानबिन अघि बढाइएको छैन । प्रहरीका लागि कमसल कपडालगायत बन्दोबस्तीका सामान खरिद गरिएको थियो । कतिसम्म भने पहिलोपटक गुणस्तरमा फेल भएका सामानलाई फेरि अर्को परीक्षण गरी त्यही सामान स्वीकार गरिएको थियो । साथै स्कर्टिङ मोटरसाइकल तथा पाँचवटा वाटर क्यानन पनि उच्च मूल्यमा खरिद गरिएको भन्दै आयोगले छानबिन गरिरहेको छ ।

त्यही विषयबाट जोगिन एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार जोगाउन सांसद अपहरण गरी काठमाडौं ल्याउन उनको सहयोग र भूमिका देखिएको थियो । जागिरको कार्यकालमा लामो समय मधेसकेन्द्रीत भएका खनालसहितको टोलीले ०७७ बैशाखमा अपहरण शैलीमा सांसद डा. सुरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौं ल्याइएको थियो । 

उनी समाजवादी पार्टीका सांसद थिए । उनलाई जनकपुरबाट काठमाडौं ल्याइपुर्याउने पात्र  महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनाल हुन् । कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनका बेला कोही घरबाहिर निस्कन सक्ने अवस्था थिएन । 

आकस्मिक अवस्थामा बाहेक कोही बाहिर निस्कन नसक्ने अवस्थामा उनीहरु जनकपुर पुगेर डा. यादवलाई काठमाडौं ल्याएका थिए । उनलाई जनकपुरबाट बिहान ३ बजे काठमाडौं पुर्याइएको थियो । सांसद यादवलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सरकार जोगाउन काठमाडौंं ल्याइएको थियो  । 

पार्टी फुटाउनका लागि ओलीले नै यादवलाई काठमाडौं ल्याउन निर्देशन दिएका थिए । तत्कालीन सांसदद्वय बस्नेत र श्रेष्ठको डा. यादवसँग राम्रो सम्बन्ध थिएन । त्यसकारण उनीहरूले पूर्वआईजीपी खनाललाई लिएर अपहरण गरेका हुन् । 

खनाल र  डा. यादवबीच पुरानो चिनजान थियो । दुवै सांसद र पूर्वआईजीपी खनाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रभाव पारेर आफ्ना स्वार्थ पूरा गर्ने खेलमा थिए । त्यसकारण उनीहरू लकडाउनको समयमा यस्तो फोहोरी खेलमा सक्रिय भएको भन्दै उनीहरुको सर्वत्र आलोचना भएको थियो । 

काठमाडौंको एक होटलबाट बाहिरिएपछि सासंद यादवले आफू अपहरणमा परेको बताएका थिए । खनालले भने अपरहण नभइ यादव राजीखुशीले आएको दाबी गर्दै आएका छन् । सो काण्डमा डा. बाबुराम भट्टराई सहितको टोलीले बस्नेत, श्रेष्ठ र खनालविरुद्ध अदालतमा मुद्धा दायर गर्न खोजेको थियो । 

तर सरकारले त्यो मुद्धाको प्रकृया अघि बढाएन । त्यस्तै राष्ट्रिय मानवअधिकार आयोग लगायतका स्थानमा पनि उनीविरुद्ध अपहरणविरुद्धको उजुरी कायमै छ । 

खनालमाथि निर्मला पन्तको हत्याराको अनुसन्धान गिजोलेको आरोप पनि लागेको छ । ०७५ साउन १० गते बेपत्ता भएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त ११ गते उखुबारीमा मृत अवस्थामा फेला परिन् । उनको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुल्यो । 

तत्कालीन समयमा प्रहरी आईजीपी सर्वेन्द्र खनाल नै थिए । सो घटनामा प्रहरी अनुसन्धान निकै विवादितमात्रै बनेन प्रहरी इतिहासकै असफल घटनामा रुपमा यो घटना दर्ज भएको छ । गृहमन्त्री थिए एमालेकै उपाध्यक्ष रामबहादुर थापा बादल । यो घटनामा अझैसम्म अभियुक्तको पहिचान हुन सकेको छैन । 

खनालकै कारण निर्मला घटनामा प्रहरी अधिकारीहरु नै दुई खेमामा विभाजित भएका थिए । केही प्रहरी अधिकारीहरु बर्खास्तीसम्म भए । कञ्चनपुरमा स्थानीयको आन्दोलनमाथि प्रहरीले गोली चलाउँदा एक निर्दोष १७ वर्षीय स्थानीय शनि खुनाले ज्यान गुमाए । सो घटनामा निर्दोषहरु पक्राउ पर्दा दोषी अझै पक्राउ पर्न सकेका छैनन् । 

त्यसैगरी अर्को विवादित घटनाले पनि खनाललाई कहिल्यै छोडेन । ०७६ असार ५ गते प्रहरीले नियन्त्रणमा लिएर नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या गरेको थियो । 

हत्या गर्ने टोली प्रहरी प्रधान कार्यालयबाटै परिचालित भएको थियो । तत्कालीन समयमा प्रहरी प्रमुख खनाल नै थिए । कुमार पौडेलको हत्या आरोपमा पूर्वगृहमन्त्री बादल र सर्वेन्द्र खनालसहितलाई जोडेर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता भएको थियो । 

तर पछि उनीहरुको नाम हटाउन लगाइएको थियो । अहिले पनि पौडेल परिवारले सो विषयमा बादलसहित खनालले हत्या गरेको आरोप लगाउँदै आएका छन् । 

राष्ट्रिय मानवअधिकार आयोगले पौडेललाई प्रहरीले नौ राउन्ड गोली हानी हत्या गरेको निष्कर्ष निकालेको थियो । आयोगले घटनामा प्रहरीलाई निर्देशन दिने निकायका पदाधिकारी र आदेश दिने अधिकारी समेतलाई कानूनी दायरामा ल्याउन निर्देशन दिएको थियो । प्रहरीले दोहोरो फायरिङमा कुमारको ज्यान गएको बताए पनि आफन्तले भने प्रहरीले ‘फेक इन्काउन्टर’ गरेको बताउँदै आएका छन् ।

०६५ सालमा खनाल काठमाडौं प्रहरी प्रमुख थिए । तत्कालीन समयमा बागबजार क्षेत्रका गुन्डा नाइके कुमार घैँटे भनिने कुमार श्रेष्ठ डान्सबार सञ्चालन गर्दै आएका थिए । 

तत्कालीन समयमा सर्वेन्द्र खनालसँगै काम गरेका प्रहरी अधिकारीहरुका अनुसार एक दिन खनाल घैंटेलाई पक्राउ गर्न त्यहाँ पुगेका थिए । सो सूचना उनले पाएपछि बियरको बोतलले खनालको गाडीमा हानेर उनी भाग्न सफल भएका थिए ।  

उनै घैंटे ०७३ भदौ २ मा खनालकै निर्देशनमा मारिए । ०७३ मा खनाल अपराध महाशाखाको प्रमुख थिए । प्रहरीले घटनालाई दोहरो भिडन्त भने पनि घैंटे छोरीलाई स्कुल पुर्याएर घर फर्किदा प्रहरीले उनीमाथि गोली प्रहार गरेको थियो । सो विषयमा सर्वत्र विरोध भएको थियो । तर खनालले शक्तिको आडमा पचाइदिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ