- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विचारबाट प्रभावित भएर एमालेमा प्रवेश गरेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बहाल हुँदा प्रहरीको पेट्रोल पम्पमा धेरै आर्थिक अनियमितता भएको थियो । तत्कालीन समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनले उनी बहालमा हुँदा सबैभन्दा बढी घोटाला भएको निष्कर्षसहित त्यहाँ कार्यरत एक असईलाईसमेत पक्राउ गरिएको थियो ।
प्रहरीका कर्मचारीको पारिश्रमिकबाट कटौती गरेर सञ्चालन गरिएको कल्याणकारी कोषमा हाकिमहरूको दोहनमा खनाल र उनी निकटमा प्रहरी कर्मचारी सहभागी थिए । कल्याणकारी कोषमार्फत सञ्चालित प्रहरी पेट्रोल पम्पमा मात्र करिब पाँच करोड अनियमितता भएको खुलेको थियो ।
पेट्रोल पम्पमा अनियमितता गरेको आरोपमा पक्राउ परेका असई दिलीप कार्कीमाथि छानबिन गर्दा पाँच करोडभन्दा धेरै अनियमितता भएको देखिएको थियो । शुरुमा असईलाई मात्र दोषी देखाउने गरी विषय शान्त पार्न खोजिएको थियो । तर भ्रष्टाचार ठूलो देखिएपछि खनालको पनि संलग्नता खुलेको थियो । तर उनीमाथि अहिलेसम्म छानबिन हुन सकेको छैन ।
त्यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले छुट्टाछुट्टै टोली बनाएर अनुसन्धान अघि बढाएका थिए । तर ती अनुसन्धानबाट पनि खनालले छुटकारा पाउने अवस्था थिएन । तत्कालीन असई कार्कीले ०७५ को असोजदेखि ०७६ को असोजसम्म मात्रै एक करोड आठ लाख हिनामिना गरेको खुलेको थियो ।
त्यसअघि पनि अन्य कर्मचारीले त्यसरी अनियमितता भएको खुलेपछि थप छानबिन अघि बढाइएको छ । सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक हुँदा धेरै अनियमितता भएको छानबिनमा देखिएको थियो ।
खनाल प्रहरी प्रमुख हुँदा आर्थिक अनुशासन पालना नगरेकोदेखि पदीय आचरण बाहिरको काम गरेका फेहरिस्त नै छन् । खनालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रु २ अर्बभन्दा बढीको खरीद प्रक्रियामा अनियमितता गरेको उजुरी विचाराधीन छ ।
प्रहरीमा बर्सेनि हुने अर्बौंको खरीद प्रक्रियालाई पारदर्शी र सामूहिक निर्णयबाट गराउन नसक्दा सन्देहको घेरामा पर्ने गरेको थियो । खनालले विभाग र प्रदेश प्रहरी कार्यालयबाट हुने आर्थिक कारोबारलाई आफ्नो सचिवालयमार्फत ल्याएर आर्थिक सुशासन कायम राख्ने बताए पनि त्यस्तो गर्न सकेनन् र आफू बदनाम भएर बाहिरिएका थिए ।
उनले केही बिचौलियाको आग्रहमा आफ्नै सचिवालयमा चीनका साइबर अपराधीहरूलाई भेटेको आरोपसमेत लागेको छ । उनले भेटेका तिनै चिनियाँ विचौलियाहरु फरार हुन सफल भएपछि चिनियाँहरुले थाहै नदिई काठमाडौंमा एउटा अप्रेशन गरेर करिब तीन सय नागरिक चीन लगेका थिए ।
अहिले उनै खनाल एमालेमा छिरेर विगतमा आफूले गरेको आर्थिक अनियमिततालाई ढाकछोप गर्न खोजिरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि एमालेले नियुक्ति गरेका पदाधिकारी भएका कारण उनको फाइल अघि बढाउन कठिनाइ हुने भएकाले खनाल एमालेको छत्रछायाँमा पुगेको धेरैले अनुमान गरेका छन् ।
एमाले अध्यक्ष ओली सरकारमा रहँदा पनि त्यो सरकार टिकाउन मधेसबाट सांसद अपहरण गर्न सहयोग गरेका खनाल अहिले आफैं मधेस प्रदेशको कुनै एक क्षेत्रबाट टिकट लिने गरी प्रवेश गरेका छन् ।
स्रोतका अनुसार उनले बाराको कुनै एक क्षेत्रबाट निर्वाचन लड्ने छन् ।