arrow

गण्डकीमा कांग्रेसको चुनाव लक्षित कार्यक्रम, के-के हुँदैछ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
gandaki congress.jpg

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशले यही मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गरि विभिन्न निर्णय गरेको छ ।

प्रदेशको पदाधिकारी बैठकले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारहरू र नेपाली कांग्रेसलाई विजयी गराउनका लागि नेपाली कांग्रेसका गण्डकी प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेको संस्थाहरू र भातृसंगठन तथा शुभेच्छुक संस्थाले खेल्नुपर्ने भूमिकाका विषयमा नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा भएको कार्यसमितिको बैठकमा छलफल तथा विविध निर्णय गरेको हो ।

गण्डकी प्रदेशलाई समृद्ध प्रदेश निर्माण गर्ने उद्देश्य पूरा गर्न र निर्वाचन गतिविधिहरूलाई प्रभावकारी बनाउन आर्थिक परिचालन समिति संयोजकमा नेपाली कांग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष वसन्त कुमार श्रेष्ठ, घोषणा पत्र तयारीमा महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र प्रचार-प्रसार समितिमा किरणबाबु श्रेष्ठलाई संयोजक तोकिएको प्रवक्ता माधव प्रसाद बास्तोला (मधु) ले जानकारी दिए ।

साथै, वीपी स्मृति पुस्तकालय सञ्चालन समितिको संयोजकमा प्रा.डा. कुशुमाकर न्यौपाने र अक्षयकोष तथा पुरस्कार व्यवस्थापनको संयोजकत्वमा प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)लाई तोक्ने निर्णय गरिएको छ । 

त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रवेशद्वार तयार गरिने घोषणापत्रमा गण्डकी प्रदेश मातहतका जिल्लाहरुवासीको जीवनस्तर परिवर्तनका लागि समस्या र समाधान समेटी सम्बोधन गरिनुपर्ने विषयवस्तुका बारेमा जिल्ला कार्यसमितिहरूसँग राय सुझाव माग गर्ने समेत निर्णय गरेको छ ।

बैठकले नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले जनतालाई अप्ठ्यारो पर्ने गरि ल्याएको करमा पुनर्विलोकन गर्न गरेको निर्देशनलाई गण्डकी प्रदेश सरकारले सम्बोधन गरेकोमा धन्यवाद व्यक्त गरेको छ ।

गण्डकी प्रदेश सरकारले जनभावनामा असर पार्ने गरि कर बढाएपछि नेपाली कांग्रेस गण्डकी प्रदेशले तत्कालै विज्ञप्ति जारी गरि प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो र प्रदेश सभापति शुक्रराज शर्माले जनताको ढाड सेक्ने गरी कर बढाएकोमा आपत्ति जनाउँदै तुरुन्त समाधान गर्न अनुरोध गरेका थिए ।



नयाँ