arrow

कांग्रेस नेतृत्वले शेखर पक्षको माग सम्बोधन नगर्ने, प्रवक्ता भन्छन् – सबै सहमतिमा भएको हो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
prakash-sharan-mahat-2079-06-11.jpg

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षका माग सम्बोधन नहुने भएका छन् । मंगलबार दिउँसो पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दैै उनीहरुका माग सम्बोधन नगर्ने संकेत गरेका हुन् । 

कोइराला समूहले समान न्यायको माग गरिरहँदा नेता महतले भने अन्याय नभएको दाबी गरे । कोइराला समूहले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको बन्दसूचीमा अन्याय भएको र यसलाई सच्याउनु पर्ने साथै प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षमा ४० प्रतिशत सिट पाउनु पर्ने माग गरिरहँदा प्रवक्ता महतले समानुपातिकमा सहमतिबाटै बन्द सूची राखिएको दाबी गरे । 

उनले भने, ‘यसमा कुनै सत्यता छैन । सम्पूर्ण आम सहमतिबाट पदाधिकारी, पूर्व पदाधिकारीहरु, संसदीय बोर्डका सदस्यहरु, प्रदेशका सभापतिहरुलाई समावेश गरेर प्रदेश प्रदेशका अग्रणी नेताहरु सामेल भएर सूची पेश गरिएको छ । कतिपय त्रुटीहरु छन् । तर एउटा पक्षलाई उठाएर अर्को पक्षलाई कमजोर बनाइयो भन्ने कुरामा कुनै पनि सत्यता छैन ।’ 

उनले कोइराला पक्षको आरोप केवल आरोपमात्रै भएको भन्दै अगाडि भने, ‘अभिव्यक्तिहरु बान्छनीय हैनन् । सम्पूर्ण निर्णयहरु सहमतिबाटै भएका छन् । कुनै पक्ष या विपक्षमा गरिएको निर्णय होइन । यो शुद्ध प्राविधिक हो । गठबन्धन पूरा नभएकाले कतिपय अवस्थामा साथीहरुलाई परिमार्जन गर्न सकिन्छ ।’

कोइराला समूहले एकलौटी ढंगले निर्णय गरिएको आरोप लगाइरहँदा डा. महतले स्पष्ट पार्दै भने, ‘जो साथीहरु संलग्न हुनुहुन्छ उहाँहरुलाई पनि थाहा छ यो एकलौटी तरिकाले गरिएको हैन ।’ 

माग सम्वोधन नभए आगामी निर्वाचनमा विद्रोह गर्ने चेतावनी कोइराला पक्षले लगाइरहेको छ नि ? भन्ने प्रश्नमा उनले हल्का पाराले सहज जवाफ दिँदै भने, ‘यो पार्टीको अनुशासन बाहिरको कुरा हो । सम्पूर्ण नेतागण सहभागी हुनुहुन्थ्यो । उहाँहरु बाहिर निस्कनु भएको छैन । यो पार्टीको हितमा छैन । सम्पूर्ण नेतृत्व पंक्ति सहभागी छ । मैले यति भनेपछि तपाईहरुले बुझिसक्नु भएको छ । यो सम्पूर्ण विधिविधानअनुसार भएको छ । कुनै विमति बिना भएकाले त्यो भन्दा अन्यथा कुनै अभिव्यक्ति आउँछ भने त्यसले पार्टीलाई हित गर्दैन ।’

उनले समानुपातिकको सूची त्रुटीहरु सच्याउने समय निर्वाचन आयोगले दिएको भन्दै अगाडि भने, ‘कतिपय व्यवस्थित हुन सक्या छैन । हामी मिलाउँछौं ।’

उनले आफू पनि बन्द सूचीमा परेको हो ? भन्ने प्रश्नमा केही बोल्न चाहेनन् । भने, ‘सम्पूर्ण बन्द सूची हो यसमा चर्चा गर्नुपर्ने आवश्यकता छैन ।’ 

फरक प्रसङ्गमा पत्रकार सम्मेलनमा उनले सरकारमा हुँदैमा प्रचारप्रसारमा कम सहभागी हुने भन्ने नहुने भन्दै संसारमै चलन भएको उल्लेख गर्दै निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छन् । 

नागरिकता विधेयकका बारेमा उनले भने, ‘नागरिकता विधेयक पुरानै विषय हो । केपी ओलीको पालामै आएको हो । सर्वोच्चलेसमेत संसदबाटै छिनोफानो गर्न भनेको थियो । देउवाजीको सरकार बनेपछि हामीले संसदबाट छलफल गर्यौं । दुई पटकसम्म पारित गरेर प्रमाणीकरणका लागि पठाउँदा पनि राष्ट्रपतिले प्रमाणीकरण नगर्नु संविधान विरोधी कदम हो । संविधानको उल्लंघन भएको हामीले महसुस गरेका छौं ।’

उनले निर्वाचनका बेलामा नेपाली बाबुआमाका छोराछोरीले नागरिकता पाउन हुन्न भन्ने गरी आएको यो ह्विम गलत भएकोसमेत बताए । 

पत्रकार सम्मेलनमा नेता महतले निर्वाचनमा नेपाली कांग्रेसको गठबन्धनलाई विजयी गराउनु जरुरी रहेको बताए । 

कांग्रेसभित्रकै असहमतिलाईसमेत समेटेर उनले भने, ‘अवश्य पनि यो ठूलो पार्टी हो । सबै साथीहरुको आकांक्षा पूरा नहुन सक्छ । तर मलाई विश्वास छ हामी सबै एकाकार भएर अगाडि बढ्ने छौं । गठबन्धनलाई विजयी गराउन लाग्ने छौं । तबमात्र आउने दिनमा कांग्रेसको नेतृत्वमा सरकार बन्नेछ ।’ 
 

 



नयाँ