- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। विश्व बैङ्क समूहको सदस्य आईएफसीले ग्रिन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत नेपालको सबैभन्दा ठूलो वाणिज्य बैङ्क ग्लोबल आइएमई बैङ्क लिमिटेडलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा विस्तार गरेको छ। यो आईएफसीको विश्वमै पहिलो ग्रिन ट्रेड फाइनान्स लाइन हो।
बुधवार आयोजित एक कार्यक्रममा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक जुन योङ्ग पार्कले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
यो कार्यक्रम नेपाल जस्तो विकासशील अर्थतन्त्रहरूमा अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन तथा ट्रेड फाइनान्स लिमिट पूर्ति गर्ने उद्देश्यले ल्याइएको हो। यस परियोजनाले ग्लोबल आइएमई बैङ्कलाई बैङ्कको बढ्दो व्यापार व्यवसायमा माग र आपूर्तिबिचको अन्तरलाई सम्बोधन गर्न मद्दत गर्नेछ।
यस कार्यक्रममा रहेको “हरित“ कम्पोनेन्ट बैङ्कको लागि जलवायु अनुकूल व्यापार व्यवसायको लागि बलियो आधार हो र यसले जलवायु परिवर्तनको असर लाई समेत सम्बोधन गर्ने बैङ्कले जनाएको छ।
यो कार्यक्रमले ग्लोबल आइएमई बैङ्क र यसका ग्राहकहरूको लागि ट्रेड फाइनान्समा पहुँच सुधार गर्ने अपेक्षा गरिएको छ।
यस कार्यक्रमले ग्लोबल ट्रेड फाइनान्स, अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध र अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्न सहजीकरण गर्नेछ। साथै, यसले द्विपक्षीय करेस्पोन्डेन्ट बैङ्किङ सम्बन्धलाई बलियो र सक्षम बनाउँदै स्थानीय र अन्तर्राष्ट्रिय बैङ्क तथा तिनीहरूका ग्राहकहरूबिच नयाँ सम्बन्धहरू विस्तार गर्न सहयोग गर्नेछ।
कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो कार्यक्रम नेपालमा जलवायु अनुकूल व्यवसाय विस्तारका लागि सहयोगी बन्ने बताए।
उनले ग्लोबल आइएमई बैङ्कलाई विश्वमै पहिलो पटक जलवायु अनुकूल व्यापार व्यवसायको लागि लगानी सुविधा प्रदान गरेकोमा आईएफसीलाई धन्यवाद समेत व्यक्त गरे।
“यो आईएफसीको जीटीएफपी लाइनले ग्लोबल आइएमई बैङ्कलाई अझ राम्रो क्षमताका साथ थप अन्तर्राष्ट्रिय बैङ्कहरूसँग सम्बन्ध विस्तार गर्न सहयोग गर्नेछ र बैङ्कलाई आफ्ना विभिन्न भौगोलिक क्षेत्रमा रहेका ग्राहकहरूका लागि थप कारोबार गर्न मद्दत गर्नेछ,” ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए, “वास्तवमा, यो हाम्रो रणनीतिक एजेन्डामा फिट हुन्छ किनकि यसमा जलवायुको विषय समावेश छ।”
“जीटीएफपीको सहयोगले बैङ्कको कर्जा माग र आपूर्तिको खाडललाई सम्बोधन गर्न मद्दत गर्नेछ,” बाबाकर एस फाये, नेपालका लागि आईएफसीका आवासीय प्रतिनिधिले भने, “यो कार्यक्रमले नेपालको वित्तीय अभावलाई सम्बोधन गर्नुका साथै ऊर्जा मितव्ययी प्रविधि, सञ्चालनको दिगोपन र कार्बन उत्सर्जनलाई कटौती गरेर जलवायु परिवर्तनको असर कम गर्नमा केन्द्रित रहेको छ।”
ग्लोबल आइएमई बैङ्क र आईएफसीबीच यो दोस्रो साझेदारी हो। सन् २०१९ मा आईएफसीले बैङ्कलाई साना तथा मझौला व्यवसायमा लगानी गर्नको लागि २० मिलियन अमेरिकी डलर लगानी गरेको थियो।