arrow

एमालेका दश भाइ लाखापाखा, कसैलाई उम्मेदवार बन्नै सकस, कोही अन्तर्घातकाे डरमा, केहीले बिसाए भारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
uml-cpn.jpg

काठमाडौं । निर्वाचनको समय नजिकिदै गर्दा एमालेभित्र टिकटका लागि रस्साकस्सी चलेको छ । जिल्ला जिल्लाबाट आएका नामलाई ‘सर्ट लिष्टिङ’ शुरु भैसकेको छ । तर विगतमा माधव नेपालतिर लागेर अहिले एमालेमा रहेका नेताहरुको अवस्था भने अझै अन्यौलमा रहेको छ । 

गत वर्ष चितवनमा भएको दशौं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गरेका भीमबहादुर रावल अहिले एमालेको कुनै कमिटीमा छैनन् । उनी अछामबाट सर्वसम्मत रुपमा सिफारिस भएका छन् । 

उनको टिकट करिब करिब ‘फिक्स’ भए पनि रावल आफैंले भने केही बताएका छैनन् ।  १० नेतामध्ये उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यद्वय घनश्याम भुषाल र रघुजी पन्त, केन्द्रीय सदस्य भीम आचार्य, भीम रावललगायत नेता आसन्न प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारका रूपमा जिल्ला र प्रदेश तहबाट सिफारिस भएका छन् । 

यसरी सिफारिस भएर आएकामध्ये पन्तलाई समानुपातिक सूचीमा राखिएको छ । ज्ञवालीले निर्वाचन नलड्ने घोषणा गरिसकेका छन् । अष्टलक्ष्मी शाक्यले पनि उम्मेदवार नहुने बताएकी छिन् । 

विष्टलाई काठमाडौंमा चुनाव लडाउने तयारी भए पनि उनले मानेका छैनन् । योगेश भट्टराईको स्थानमा गठबन्धनबाट एस पार्टीले दाबी गरिरहेका कारण उनलाई त्यहाँ अप्ठेरो परिरहेको छ । उनी पनि सर्वसम्मत सिफारिस नभएका कारण ओलीले तिलकुमार मेयाङमोलाई पनि अघि बढाउने संभावना बढिरहेको छ । 

यसपल्ट घनश्याम भुषालले टिकट नपाउने संभावना बढिरहेको छ । चुनावमा १० भाइमध्येका गोकर्ण विष्टलाई बढी सहज देखिए पनि त्यहाँबाट अर्को नेतालाई अघि सारेर विष्टलाई काठमाडौं ल्याउने तयारी एमालेको छ । विगतमा पनि ओलीविरुद्धमा त्यति धेरै आक्रामक नभएका विष्ट गुल्मी क्षेत्र नम्बर २ बाट सांसद बनेका थिए । अन्य नेताहरूलाई भन्दा विष्टलाई एमालेको उम्मेदवार बन्न सहज भएको उक्त पार्टीभित्र चर्चा भए पनि विष्टको क्षेत्रमा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्यालको दाबी रहेको छ । 

अर्यालको दाबी रहँदा उनलाई र विष्टलाई अन्यत्र व्यवस्थापन गरेर अर्को नेतालाई टिकट दिने सम्भावना बलियो छ । विष्टले २०७४ मा ३४,६१८ मतसहित कांग्रेसका चन्द्रबहादुर केसीलाई पराजित गरेका थिए । स्थानीय तह चुनावमा वडाध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा एमाले अगाडि छ ।

एमाले अगाडि भए पनि गठबन्धनका उम्मेदवारले सहजै जित निकाल्ने देखिन्छ । स्थानीय तह चुनावमा एमालेको ३१,२५३, कांग्रेसको २९,८२१, माओवादीको १८,०४१ र नेकपा एसको ६५८ मत छ । यो क्षेत्रमा कांग्रेसका केन्द्रीय सदस्य केसी उम्मेदवार बन्ने दाउमा छन् । गठबन्धनका तर्फबाट नेकपा एसकी सचिव रामकुमारी झाँक्रीको पनि दाबी रहेको छ । यहाँ झाँक्रीको सम्भावना बढेको छ । 

एमाले सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहरा, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष युवराज ज्ञवाली यो पटक उम्मेदवारी नै दाबी गर्ने अवस्थामा छैनन् । ज्ञवाली गत २०७४ को निर्वाचनमा पनि चुनाव लड्नबाट पछि हटेका थिए । त्यसबेला पार्टीले चुनाव लड्न सुझाए पनि निर्वाचन महँगो हुने भन्दै पछि हटेका ज्ञवालीले यो पटक पनि इच्छा देखाएका छैनन् । 

ज्ञवालीले चुनाव जितेर पदमा पुग्नेभन्दा पनि पार्टी र संगठन राम्रो बनाउनुपर्छ भन्ने मान्यता रहेको बताउँदै आएका छन् । ज्ञवालीको दाङ क्षेत्र नम्बर ३ मा एमालेबाट कोमल वली वा तुलसीपुर उपमहानगरका पूर्वमेयर घनश्याम पाण्डे उम्मेदवार बन्ने सम्भावना छ । 

दाङ क्षेत्र नम्बर ३ मा २०७४ को चुनावमा वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हिराचन्द्र केसी अहिले नेकपा एसमा छन् । गत स्थानीय तह चुनावमा वडा अध्यक्षले पाएको मत हेर्ने हो भने एमाले नै पहिलो पार्टी देखिन्छ । 

तर गठबन्धन हुँदा उसकै पल्ला भारी छ । यो क्षेत्रमा एमालेको ३८,६५८, कांग्रेसको ३०,९८९, माओवादीको १२,८८० र नेकपा एसको १ हजार मत छ ।



नयाँ