arrow

घनश्यामले टिकट नपाउने, गोकर्णले घर छाड्नु पर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
gokarna-bista-ghanashyam-bhusal.jpg

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाउने तयारी गरेको छ । १ सय ६५ वटै निर्वाचन क्षेत्रको उम्मेदवारी टुंग्याउँदै गर्दा एमाले सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य घनश्याम भुषाललाई भने साह्रो गाह्रो परेको छ ।
 
एमाले सचिव विष्टलाई गुल्मी २ बाट काठमाडौं ल्याउने र भुषाललाई टिकट नै नदिइ राख्ने तयारी भएको एमाले उच्च स्रोतले जनाएको छ । तर विष्टले भने गुल्मी २ छाड्न मानेका छैनन् । भुषाललाई टिकट नदिने करिक करिब पक्का भएको एमाले एक नेताले बताए । 

आजको सचिवालय बैठकबाट एमालेले दशैंअगावै संघ र प्रदेशतर्फ प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने गरी गृहकार्य गर्ने भएको छ । गृहकार्यलाई अन्तिम रूप दिन आज दिउँसो केन्द्रीय सचिवालय बैठक बस्दैछ । 

बैठक लगातार बस्ने र दशैंअगावै उम्मेदवार तथा निर्वाचनको घोषणापत्र टुंग्याउने नेताहरूको भनाइ छ । दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा बस्ने बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुनेछ ।

‘आज बस्ने सचिवालय बैठकमा प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचनमा प्रस्तुत गरिने पार्टीको घोषणापत्रमा केन्द्रित रहेर छलफल हुनेछ,’ उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भने । 

उनका अनुसार दशैँ अगावै उम्मेदवार टुंगो लगाएर दशैँमा पठाउने तयारी भएको छ । सत्तारूढ गठबन्धनको क्षेत्र बाँडफाँट र त्यसबाट उत्पन्न हुन सक्ने असन्तुष्टिलाई समेत मध्यनजर गरेर उम्मेदवार टुंगो लगाउने रणनीतिमा एमाले छ । गठबन्धनभित्रको असन्तुष्टिति र नजर लगाउँदै एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राप्रपासँगको तालमेलको अन्तिम टुंगो लगाइसकेको छैन । ‘लोसपाले बढी सिट माग्यो बरु एक्लै निर्वाचन लड्न फाइदा होला जस्तो छ’, एमालेका एक पदाधिकारीले भने । 

गठबन्धनभित्र सिट बाँडफाँटमा असन्तुष्टि देखिएपछि एमालेले बुधबार बोलाउने तयारी गरेको सचिवालय बैठकलाई गृहकार्य नपुगेको भन्दै बिहीबारलाई सारेको थियो । तर बिहीबारबाट शुरु हुने सचिवालय बैठक भने लगातार बस्ने र दशैँँ अगावै उम्मेदवार तथा निर्वाचनको घोषणापत्र टुंग्याउने नेताहरूको भनाइ छ । 

अध्यक्ष केपी शर्मा ओलीले निकटस्थ नेताहरूसँगसमेत परामर्श गरेर प्रतिनिधि सभातर्फका ८० प्रतिशतभन्दा बढी उम्मेदवार टुंग्याइसकेका छन् । ६० निर्वाचन क्षेत्रमा जिल्ला र प्रदेशबाटै सर्वसम्मत टुंगिएर उम्मेदवारको नाम आएको र थप ५० हाराहारीमा दुईजनाको मात्र दाबी रहेकाले संघतर्फको उम्मेदवार टुंगो लगाउन गठबन्धनको तुलनामा एमालेलाई सहज देखिएको छ ।



नयाँ