- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । समानुपातिकको बन्दसूचीमा निकै रस्साकस्सी चलिरहँदा सबैभन्दा विवादमा फसेको नेपाली कांग्रेसले निर्वाचन आयोगमा अन्तिम बन्दसूची बुझाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव तथा राष्ट्रिय सभा सांसद कृष्णप्रसाद पौडेलले संशोधित बन्दसूची आयोगमा बुझाएको जानकारी दिए ।
उनले भने, ‘हिजै बुझाएको हो । रेकर्डसेकर्ड सबै हिजो बुझाएको हो । नागरिकता सागरिकता कसैको छुटेको रहेछ भने आज गर्या होला । अरु त हिजै गर्या हो ।’
बालुवाटारमा शनिबार रातभर बैठक बसेको के अर्थ रह्यो त शनिबार नै बन्दसूची बुझाएको भए त भन्ने प्रश्नमा उनले भने, ‘बैठक त बस्छ नि पार्टीको बैठक निर्वाचनका कुराहरु, अरु कुराहरु हुन्छन् ।’
उनी हिजै बुझाएको हो भनेर पन्छिन खोजेको स्पष्टै हुन्छ । त्यतिमात्र हैन बालुवाटारको बैठकका कारण कुनै परिवर्तन भएको नदेखाउने एउटा शैलीको रुपमा पनि उनको जवाफ आएको हुन सक्छ ।
स्रोतका अनुसार सामान्य रुपमा समानुपातिकमा परिवर्तन भएका छन् । र उक्त सूची आइतबार बुझाइएकाे छ ।
निर्वाचन आयोगले असोज २ र ३ गतेका लागि बन्दसूची पेश गर्ने समय दिएको थियो । त्यसपछि असोज ९ देखि १६ गतेसम्मका लागि त्रुटी सच्याएर अन्तिम बन्दसूची बुझाउने समय दिएको थियो ।
कांग्रेसलाई पनि विभिन्न क्लष्टर लगायतमा भएको त्रुटी सच्याउन आयोगले पत्र लेखेको थियो । त्यो भन्दा पनि महत्वपूर्ण विषय भने पार्टीभित्र न्यायका लागि भन्दै डा. शेखर कोइराला पक्षले थालेको आन्दोलनको रहेको छ ।
कोइराला पक्षले शुरुआती चरणमा ४० प्रतिशत भाग मागेको भए पनि पछिल्लो समय ३० प्रतिशतसम्म पनि राजी हुने लक्षण देखाएको थियो । तर बालुवाटारमा लामो समय बसेको छलफलको निष्कर्ष भने बाहिर आइसकेको छैन ।
बालुवाटारको बैठकपछि सामान्य सुधार भएको स्रोत बताउँछ ।