arrow

ब्रेक फेल भएर बारामा बस दुर्घटनाः मृतकको संख्या १६ पुग्यो

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७९ असोज २० बिहिबार
bus-accident-2079-06-20.jpg

हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । घटनास्थलमै आठ जनाको र उपचारका क्रममा आठ जनाको मृत्यु भएको हो । 

शव हेटौंडा अस्पतालमा राखिएको छ । ब्रेक फेल भएर बस दुर्घटनाग्रस्त भएको जनाइएको छ । चितवनको नारायणगढबाट वीरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । 

२ जनाको हेटौंडास्थित चुरेहिल अस्पताल, एक जनाको सहकारी अस्पताल हेटौंडा, १२ जनाको हेटौंडा अस्पतालमा र एक जनाको भरतपुरमा मृत्यु भएको हो । बसले क्षमता भन्दा बढी यात्रु बोकेको थियो । २५ बढी घाइते भएको र अधिकांशको अवस्था गम्भीर भएकाले भरतपुर रिफर गरिएको छ ।

दुर्घटनामा घाइते ३६ मध्ये २० जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ । प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–१४, नयाँबस्तीका १४ वर्षीय अमृत लोप्चन, सोही ठाउँका १२ वर्षीय विज्ञान घिसिङ, चितवनको खैरेनी नगरपालिका–८ का ५४ वर्षीय भीमसेन अधिकारी र खैरहनीकै ३८ वर्षीया रविना अधिकारीलाई उपचारका लागि चितवन लगिएको हो ।

यसैगरी हेटौँडा उपमहानगर–१४ चुरियामाईकी ३४ वर्षीया ठूलीमाया स्याङ्तान, सोही स्थानकी ३५ वर्षीया  मञ्जुकुमारी लोप्चन, पर्साको वीरगञ्ज महानगरपालिका–१६ की २२ वर्षीया रविना चौरसिया, सोही स्थानका २५ वर्षीय सन्दिप चौरसिया, ४० वर्षीया लक्ष्मीदेवी चौरसिया र ६२ वर्षीया मालती चौरसिया पनि उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ । 
 
यस्तै हेटौँडा उपमहानगर–७ की १७ वर्षीया सोनिया श्रेष्ठ, बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२२ का ११ वर्षीय शिशिर विक, हेटौँडा उपमहानगर–१४ का १५ वर्षीय प्रशान्त स्याङ्तान, वीरगञ्ज महानगर–१६ का ११ वर्षीय दिवी आयान चौरसिया, सोही स्थानका प्रिन्स चौरसिया, चितवनका २० वर्षीय आयुस बाँस्तोला र वीरगञ्ज–१६ का सात वर्षीय दीपेश चौरसियालाई पनि थप उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ ।
 
यसैगरी हेटौँडा उपमहानगर–८ का १७ वर्षीय सलमान आलम, सोही ठाउँका १५ वर्षीय सवनम खातुन र हेटौँडा उपमहानगर–१४ की सात वर्षीया सुविना घिसिङलाई पनि थप उपचारका लागि चितवन पठाइएको छ । मृतकको सनाखत हुन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ